काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टल सञ्चालन भएसँगै भनसुनको आधारमा रोजगारी पाइने स्थितिको अन्त्य हुने दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
अहिले नेपालमा भनसुनको आधारमा रोजगारी पाइने स्थिति रहेको उनको भनाइ छ । उनले भनसुन र आफ्नो मान्छे नभएकाहरु रोजगारी पाउने स्थिति नरहेकै कारण युवाहरुमा नैराश्यता बढिरहेको बताए । उनले नेपालको श्रम बजारहमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विदेशी श्रमिकहरु आएर नेपालको माग धानिरहेको बताए ।
उनले नेपालको श्रम बजारमा वर्षेनी पाँच लाख श्रमिकहरु आउने भएपनि दक्ष जनशक्ति नभएकै कारण रोजगारी पाउने स्थिति रहेको समेत बताए । उनले अबको एक दशकभित्रमा नेपालका श्रमिक वर्गलाई सीपयुक्त बनाउँदै विदेशी श्रमिकहरुलाई विस्थापित गर्दै लैजाने सरकारको लक्ष्य रहेको बताए ।
उनले श्रम र रोजगारदाताबीचको सम्पर्कलाई मजबुत बनाउन ‘श्रम संसार’ पोर्टलले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।