२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता

shivam cement
मध्यान्ह
२०८२ वैशाख १६ गते ०६:४५
ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता

ललितपुर : ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छन् । महानगरप्रमुख चिरीबाबु महर्जन र राजदूत लोरेन्जोबीच आज महानगरप्रमुखको कार्यकक्षमा भेटवार्ता भएको हो ।

ललितपुरको विकास निर्माण र युरोपेली युनियनसँगको सम्बन्धका बारेमा छलफल भएको महानगर प्रमुख महर्जनले जानकारी गराए । “राजदूत भेरोनिक लोरेन्जोसँगको भेटघाट अत्यन्तै सौहार्दपूर्ण रह्यो, महानगरमा भएका कामका बारेमा उहाँले चासोपूर्वक जानकारी लिनुभयो, हामीले सम्पदा संरक्षण, वातावरण संरक्षण, हरियाली प्रवर्द्धनका क्षेत्रमा गरेका प्रशस्तै कामका बारेमा रुचिपूर्वक जानकारी लिनुभयो, आपसी हितका विषयमा अति प्रभावकारी छलफल भयो”, उनले भने ।

महानगर प्रमुख महर्जनले सामाजिक विकासलाई महानगरले प्राथमिकतामा राखेर काम गरेको जानकारी गराउँदै विपद् व्यवस्थापनका क्षेत्रमा देशका सबै नगरपालिकामध्ये ललितपुरले उत्कृष्ट काम गरिरहेको जानकारी गराए ।

युरोपेली युनियनका राजदूत लोरेन्जोले महानगर प्रमुख महर्जनले महानगरको विकासमा गरेको प्रगति, दूरदर्शिता र प्रतिबद्धता प्रशंसनीय भएको धारणा राखिन् । उनले समाजमा सकारात्मक परिवर्तनका लागि सक्रियतापूर्वक काम गरिरहेको महानगरको प्रमुखसँग भेटेर कुराकानी गर्न पाउँदा आफूलाई खुसी लागेको बताइन् ।

महानगरको न्यानो आतिथ्यप्रति आभार प्रकट गर्दै राजदूत लोरेन्जोले यहाँका नागरिकको हित र समग्र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । उनले नेपाल र युरोपेली युनियनबीचको सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्ने धारणा राखिन् ।

भेटका क्रममा ‘युरोप डे २०२५’ का बारेमा पनि छलफल भएको थियो । प्रत्येक वर्ष मे ८ मा युरोप डे मनाइन्छ । यो वर्षको युरोप डेमा पाटन सङ्ग्रहालयमा कार्यक्रम आयोजना गरिएको सन्दर्भमा छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिइन् । 

ADV

सम्बन्धित खबर

Advertise