२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लाग्ने

मध्यान्ह
२०८२ वैशाख १२ गते १३:४१
७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लाग्ने

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए । उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए । मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भइ कर तिर्नुपर्ने बताए । उनले मेटाले नेपालको कुल गाहस्थ उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे ।  

उनले भने, ‘मेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यहीँ समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ? त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नुपर्दैन ? पर्छ नि । तीन पटक भयो । म आउने बित्तिकै सूचना जारी गरे, त्यसपछि फेरि सूचना जारी गरे । तेस्रो पटक फेरि सूचना जारी गरे, अत्ति भर्खर म्याद सकियो । अब ७ दिनभन्दा बढी दिन्न मैले । यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिड्यौं । देशभन्दा ठूलो रे उनीहरू । उनीहरूको घमण्ड के रैछ भने नेपालको जिडिपी कति हुन्छ र रु इत्ति । हाम्रो संस्था भन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ । मुलुकको स्वाधीनता पैसामा जोडिँदैन ।’

उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी गराए ।  

ADV

सम्बन्धित खबर