२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

दुई किशोरीको मृत्युबारे गृहमन्त्रीको ध्यानाकर्षण

मध्यान्ह
२०८१ माघ १४ गते १४:४७
दुई किशोरीको मृत्युबारे गृहमन्त्रीको ध्यानाकर्षण

अछाम : अछामको ढकारी गाउँपालिका–८, पल्साँताका दुई जना किशोरी जंगलमा मृत अवस्थामा फेला परेको घटनाका विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।  

ढकारी गाउँपालिका– ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको शव ढकारी गाउँपालिकाकै वडा नं १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी फेला परेको थियो । किशोरी मृत्यु प्रकरणमा घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको जनाएका छन् ।

आज बिहान मन्त्री निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम– १ का सांसद शेरबहादुर कुँवर, अछाम–२ का सांसद पुष्पबहादुर शाह, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

गृहमन्त्री लेखकले घटनाको सुरुवातदेखि नै आफूले गम्भीरतापूर्वक लिएको बताएको नगरप्रमुख चलाउनेले जानकारी दिए । उनका अनुसार घटनाको छानबिनका लागि प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान थालेको छ ।

यस्तै भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका पाँच जनाको परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्री समक्ष माग गरेका थिए । उनीहरुले नेपालदेखि भारतमा काममा जाने मजदुरको बिमा गरिनुपर्ने धारणा राख्दै सरकार यस्ता घटनामा गम्भीर बन्नुपर्ने बताए ।

ADV

सम्बन्धित खबर