काठमाडौँ : स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण मुद्दामा रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सकिएको हो ।
वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र सुशील पन्तले उनको पक्षमा लामिछानेको पक्षमा थुनछेक बहस गर्ने बताइएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ ।
कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।