काठमाडौँ : धार्मिक हिसाबले नेपाल र भारत दुबै देशका हिन्दूधर्मावलम्बीको सम्बन्ध-सेतु हो जनकपुर उपमहानगरपालिकामा रहेको चर्चित जानकी मन्दिर ।
जनकपुर सीताको जन्मस्थल हो, जहाँ भारतबाट वर्षेनि विवाह पञ्चमीको अवसर पारेर जन्तीका रुपमा तीर्थयात्रीहरू आउने गर्छन् । ऐतिहासिकरुपले महत्वपूर्ण सांस्कृतिक धरोहर मानिन्छ जानकी मन्दिर ।
यो मन्दिरमा पुग्ने जोकोहीलाई यहाँकोे कलात्मक बनावटले मन्त्रमुग्ध बनाउँछ । मुगल शैलीमा बनेको यस प्रख्यात मन्दिरलाई कलाको उत्कृष्ट नमूनाका रुपले हेर्ने गरिन्छ । प्राचीन मिथिला राज्यको राजधानी जनकपुरमा अवस्थित यो मन्दिर विश्वभर रहेका हिन्दुहरूको आस्थाको केन्द्रका रुपले प्रख्यात छ ।
मन्दिर निमार्णका लागि टिकमगढकी राजकुमारी बृषभानु कुमारीले ९ लाख चाँदीका असर्फी खर्च गरेर निर्माण भएकाले यस मन्दिरलाई नौलाख मन्दिर पनि भन्ने गरिन्छ । मन्दिर निर्माण प्रक्रिया सन् १८९४ मा सुरु भई १९११ मा सकिएको थियो ।
मन्दिर निर्माण भएको १२१ वर्षजति भएतापनि मन्दिरमा रहेका मूर्तिहरु ७ सय वर्ष पुराना छन् । जानकी मन्दिरमा चैतको रामनवमी, बैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोजमा पूणिर्मा कोजाग्रत र साउन-भदौमा झुला मेला लाग्ने गर्छ
सो मन्दिर संघीय राजधानी काठमाडौंबाट सार्वजनिक बसमा ७/८ घण्टा लाग्छ । रामजानकी मन्दिर परिसरमा राममन्दिर, जानकी मन्दिर, विवाह मण्डप, धनुष सागर र गंगासागर पोखरीहरू छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।