२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

सोनसिक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

shivam cement
मध्यान्ह
२०८१ असार ५ गते २०:५६
सोनसिक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

काठमाडौं : नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक)ले आफ्नो २० औँ  स्थापना दिवसको अवसरमा ‘सोनसिक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’ सम्पन्न गरेको छ । 

‘सहकार्यात्मक नेतृत्वः दिगो विकासका लागि अन्तरविषयगत नवप्रवद्र्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक’भन्ने विषयवस्तुलाई मुख्य आधार मानेर आयोजना गरिएको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल विश्वविद्यालयमा सम्पन्न भएको हो ।  

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको प्रमुख अतिथ्यता (भर्चुअल), नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा.डा.स्युङ योङ युन्, कोरियाका लागि मिशन उपप्रमुख पुष्पराज भट्टराई, निड टिम लिडर किम ना युनको विशिष्ट अतिथ्यता, विभिन्न क्षेत्रका विज्ञ, वैज्ञानिक, तथा शिक्षा र अनुसन्धान क्षेत्रका विशिष्ट व्यक्तिहरू लगायत दुई सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान कर्ता, विशेषज्ञ र विद्यार्थीहरुको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।  

उद्घाटन सत्रलाई विशेष सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कोरिया लगायत विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई एक हुन सम्मेलनले ठूलो भूमिका खेलेको र यस्ता प्रकारका सम्मेलनहरु नेपालमै गर्नको लागि प्रस्तावना लिएर आउन अनुरोध गर्दै आफ्नो सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गरिन् । विश्वभर छरिएर रहेका नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई राष्ट्रप्रति थप जिम्मेवार बन्दै शिक्षाको आधुनिकीकरणमा वैदेशिक शैक्षिक संस्था तथा नीतिगत तहबाट समन्वयन र सहकार्य गरी आफूलाई सहयोग गर्न पनि उनले अपील गरेकी थिइन् । 

शिक्षा र अनुसन्धानले मात्रै समाजलाई सभ्य बनाउन र मानव जीवनको औचित्यलाई अझै परिष्कृत गर्न सक्ने भन्दै यस्तो कार्यक्रममार्फत सबैलाई जोड्न प्रयास गरेकोमा आयोजकलाई उनले विशेष आभार प्रकट गरेकी थिइन् । 

साथै उद्घाटन सत्रलाई प्रेसिडेन्ट प्रा.डा. स्युङ योङ युन्, सहायक प्रमुख पुष्पराज भट्टराई, वैज्ञानिक समितिका माननीय अध्यक्ष देवी बहादुर बस्नेतले विशेष सम्बोधन गरेका थिए । 

उद्घाटन सत्रमा कोरियाका लागि नेपाली राजदूत महामहिम ज्योति प्याकुरेल भण्डारी आउन तय भएपनि अकस्मात स्वास्थ्य समस्याका कारण आउन नसकेपछि उनको सन्देश सोनसिकका अध्यक्ष मेधनाथ पौडेलले पढेर सुनाएका थिए । 

कार्यक्रममा  आयोजक समितिका संयोजक किरण सुवालले स्वागत तथा समाजका अध्यक्ष मेघनाथ पौडेलले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सचिव नारायण सराफ, सोनसिक मिडिया उपसमिति संयोजक डा. कमला केसी, र नामसउल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी कान्ति खतिवडाले संयुक्त रुपमा सञ्चालन गरेका थिए । 

दुईदिने सम्मेलनको उद्घाटन नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा.डा. स्युङ योङ युन्, कोरियाका लागि मिशन उपप्रमुख पुष्पराज भट्टराई र समाजका अध्यक्ष मेघनाथ पौडेलले संयुक्त रूपमा गरेका थिए ।

सम्मेलनको विशेष वक्ताको रूपमा नेपालबाट आमन्त्रित नेपाली बैज्ञानिक प्रा.डा. निरन्जन पराजुली र प्रा. डा. लुइस केनेरेको विशेष प्रस्तुति रहेको थियो । त्यस्तै चर्चित टेलिभिजनकर्मी सुजन शाक्यले विशेष वक्ताको रुपमा विशेष प्रस्तुति दिएका थिए ।

उद्घाटन सत्रमै सोनसिकले नेपाली विद्यार्थीको हक हितका लागि भनेर पहिलो पटक सोनसिकको आफ्नै एप ल्याएको छ । उक्त सुपर सोनसिक एपको लन्च नेपाली राजदूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराईको हातबाट उद्घाटन  गरिएको छ ।   

‘सम्मेलनको पहिलो दिनमा ‘माइन्ड म्याटर’भन्ने विषयमा प्राध्यापकहरू डा.सिर्जना थापा र डा.युन् सिल किमले गहन अन्तरक्रिया गर्नुका साथै कोरियामा अध्ययनरत स्वदेशी तथा विदेशी विद्यार्थीहरुलाई विशेष परामर्श प्रदान गरेका थिए ।

त्यसपश्चात कोरियामा रहेका आप्रवासी बालबालिका लक्षित ट्यालेन्ट शो हाजिरी जवाफ, चित्रकला, र आफ्नो क्षमता देखाउने प्रतियोगितात्मक कार्यक्रम गरिएको थियो । 

सम्मेलनलाई प्रभावकारी तवरले सञ्चालन गर्नको लागि शिक्षा, समाजशास्त्र, नेचुरल साइन्स, मेडिसिन, फार्मेसी, माइक्रोबायोलोजी, कम्प्युटर विज्ञान, इन्जिनियरिङ, वैकल्पिक ऊर्जा, मनोविज्ञान लगायत सम्पूर्ण विषयवस्तुलाई समेटी चार वटा छुट्टाछुट्टै सत्रहरू दुई घण्टासम्म एकै समयमा सञ्चालन गरिएको थियो भने पोष्टर प्रस्तुति एक घण्टा चलेको थियो । 

प्रथम सत्र नेचुरल साइन्स तथा मेडिसिनको नेतृत्व प्राकृतिक तथा वैकल्पिक ऊर्जा विज्ञ डा.अग्नि राज कोइरालाले गरेका थिए भने डा. पुन माया महर्जनले क्रिस्पार केश जेनी इडिटिङ सम्बन्धी अनुसन्धानात्मक तथ्यहरूको विशेष प्रस्तुती दिएकी थिइन् ।

फरक–फरक विषयमा अनुसन्धान गरी छ भन्दा बढी प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुले आ–आफ्नो अनुसन्धानलाई उजागर गरेका थिए । प्राध्यापक डा. ज्ञानेन्द्र प्रसाद जोशीले नेतृत्व गरेको आई.टि, इन्जिनियरिङ तथा कम्प्यूटर साइन्स लगायतका विषयबस्तुलाई समेटिएको दोस्रो सत्रमा पनि आधा दर्जन भन्दा धेरै वैज्ञानिक तथा अनुसन्धानकर्ताले आफ्ना अनुसन्धानहरुलाई प्रष्ट्याएका थिए ।

सोसल साइन्स एण्ड म्यानेजमेन्टको सत्रमा प्रोफेसरहरु डा.हान् व्योल यो र डा.हान युन् जुङ विशेष प्रस्तुतकर्ताको रूपमा आमन्त्रित थिए भने पाँचजना अनुसन्धानकर्ताले आफ्ना सोधपत्रहरूको नतिजालाई स्पष्ट पारेका थिए । तेस्रो सत्रको नेतृत्व प्राध्यापक डा. मधुसुधन आत्रेयले कुशलतापूर्वक गरेका थिए ।

त्यसैगरी प्राध्यापकहरू डा. सिर्जना थापा र डा. युन् सिल किमको नेतृत्वमा सम्पन्न मेन्टल हेल्थ एंड वेलविङ सम्बन्धित सत्रमा पनि विशेष आमन्त्रित वक्ताको रुपमा प्राध्यापक डा. ए जङ पार्क र डा. सरन हरि श्रेष्ठले विशेष सम्बोधन गरेका थिए भने अन्य अनुसन्धानकर्ता तथा विद्यार्थी गरी सातओटा विशेष प्रस्तुतिहरु सम्पन्न भएका थिए । डा. सौगात सिवाकोटी, डा.कपिल गुरुङ तथा डा. उस्मान मुहम्मदले सत्रहरुको सहजीकरणमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । 

पोष्टर प्रस्तुति सत्रमा पनि दर्जनौँ अनुसन्धानकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । कोरिया र अन्य विभिन्न देशलाई प्रतिनिधित्व गर्दै सहभागी अनुसन्धानकर्ताहरुले गर्ने अनुसन्धानहरु अत्यन्तै स्तरीय र समाजलाई ठूलो योगदान दिन सक्ने खालको रहेको पोष्टर मूल्यांकन विज्ञ टिमका संयोजक डा.घनश्याम ज्ञवालीले बताए । 

नामसउल विश्वविद्यालयको तीसौं वार्षिक उत्सवको अवसरमा सोनसिकसंगको सहकार्यमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन गरेको थियो भने नेपाली राजदूतावास, जिमोनी ट्रान्स, लर्न कोरियन विथ विवेक, सिद्धार्थ फुटबल क्लब–थेगू तथा रोयल इन्डियन रेष्टुरेन्टले प्रायोजन गरका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise