२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु

Nada
२०८१ कार्तिक ३० गते १२:२२
Shares
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु

गण्डकीः गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो । 

ncell

त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २, १४ र कात्तिक ४ गते गरी क्रमशः ८१, ७०, ७५ र २६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

यस अवधिमा कास्कीमा सबैभन्दा बढी आठ हजार नौ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र छ जनामा डेंगु सङ्क्रम पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए । 

प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै आठ हजार आठ सय ५८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको उनको भनाइ छ । प्रदेशका १२ वटा स्थानीय तहमा भने अहिलेसम्म डेंगुको सङ्क्रमण देखिएको छैन । गत जनवरीमा जम्मा ७० जनामा डेंगु देखिएकामा गत सेप्टेम्बरमा छ हजार दुई सय ६७ जना डेंगुबाट सङ्क्रमित भएका थिए ।  

अक्टुबरमा छ हजार ४४ र नोभेम्बर सुरु भएयता हालसम्म जम्मा नौ सय ४७ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार कास्कीपछि सबैभन्दा बढी  तनहुँमा तीन हजार आठ सय १७, पर्वतमा एक हजार चार सय ३१, बागलुङमा एक हजार तीन सय ८४, गोरखामा एक हजार एक सय दुई, स्याङ्जामा सात सय २६, म्याग्दीमा चार सय ५६, नवलपुरमा दुई सय ९७, लमजुङमा एक सय २५, मुस्ताङमा १६ र मनाङमा छ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । 

असारदेखि कात्तिकसम्म डेंगु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । चिसो मौसम शुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको सङ्क्रमण घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताए । 

‘चिसो याम शुरु भएकाले अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ, फागनुदेखि फेरी सङ्क्रमण बढ्न थाल्छ’, उनले भने । डेंगुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । 

डेंगु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर