२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

युवा उद्यमीलाई प्रोत्साहन गर्न मञ्च र एड्भरटाइजिङबीच सम्झौता

Nada
२०८१ असोज १५ गते २१:४०
Shares
युवा उद्यमीलाई प्रोत्साहन गर्न मञ्च र एड्भरटाइजिङबीच सम्झौता

इटहरी : युवा उद्यमीहरुको साझा संस्था नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेश र नयन एड्भरटाईजिङ प्रालिबीच सहकार्यको लागि सम्झौता भएको छ । मंगलबार नयन एड्भरटाइजिङ प्रालि इटहरीको युवाहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न प्रोत्साहन गर्ने उद्देश्यले सो सम्झौता भएको हो । 

ncell

रोजगारीको अभावमा युवाहरु देश छाड्न बाध्य भएको अवस्थामा यो सम्झौताले भने युवाहरुलाई देशमै रोजगारीको अवसर सृजना गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ । सक्रिय युवा उद्यमीलाई सञ्चारमाध्यममार्फत् प्रोत्साहन र हौसला प्रदान गर्ने नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशका अध्यक्ष मुनम रिजालले बताए । 

‘देशमा रोजगारी बढाउन, आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ,’ रिजालले भने, ‘अहिलेको समयमा युवालाई प्रोत्साहन गर्ने महत्वपूर्ण माध्यम सञ्चारमाध्यम नै हो ।’ उनले युवा उद्यमीलाई विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न सरकारी नीतिबाटै सहजीकरण र प्रोत्साहन गर्न सञ्चारमाध्यमबाट दबाब सिर्जना गर्नुपर्ने जनाए । 

सम्झौताअनुसार उद्योग परिसंघले युवा उद्यमीले गरेका उदाहरणीय कार्य, संघर्षका चरण, प्रगतिलगायतका भावी पुस्तालाई सन्देश हुने सकारात्मक सन्देश नयन एड्भरटाईजिङ प्रालिद्वारा सञ्चालन भएको प्रदेश खबर डटकममार्फत् प्रकाशन गरिने जनाइएको छ । एड्भरटाइजिङका अध्यक्ष तथा प्रदेश खबर डटकमका सम्पादक पवन अधिकारी र संस्थाका अध्यक्ष रिजालबीच उक्त सहमति पत्रमा हस्ताक्षर भएको छ । 

अधिकारीले युवा उद्यमीहरुलाई सञ्चारमार्फत् जोड्न पाउनु हर्षित भएको बताए । उनले देशमै सकारात्मक सोचसहित नयाँ र रचनात्मक काम गर्न चाहने युवाहरुलाई उक्त सम्झौता कोशेढुंगा साबित हुने दाबी गरेका छन् ।

सम्बन्धित खबर