सपना बोहरा/मध्यान्ह
दाङ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्काविरुद्ध भ्रष्टाचारको झुटो मुद्दाको आरोप लगाएको बताएका छन् । दाङको लमही नगरपालिका–९ अमिलियामा दिवंगत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापति देउवाले भने,‘देशको सच्चा सपुतलाइ झुटो मुद्दा लगाउनु गलत हो ।’
खड्का इमान्दार र विकासप्रेमी नेता भएको उनले बताए । ‘कार्यकर्तामाझ लोकप्रिय रहेका स्वर्गीय नेता खड्का निडर, सक्षम नेतृत्वकर्ता थिए’देउवाले भने,‘उनको निधनले पार्टीमा धेरै नै क्षति पुगेको छ ।’ खड्काको रिक्तता पार्टीभित्र रहेको उनले बताए ।
खड्काको सालिक अनावरण गर्न दाङ आइपुगेको देउवाले दिवंगत नेता खड्काले पार्टी र देशमा पु¥याएको योगदानको बारेमा खुलेरै चर्चा गरे ।
‘उहाँलाई षड्यन्त्रपूर्ण तरिकाले भ्रष्टाचारको झुटो मुद्दा लगाएर जेल हाल्यो,’ पार्टी सभापति देउवाले भने ,त्यसले केही फरक परेन,उहाँको झनै हाइट बढ्दै गयो ।’
खड्का राष्ट्रको सपुत हो भन्ने कुरा आम नेपालीले बुझेको उनले बताए । ‘त्यस्ता व्यक्तिलाई मुद्दा लाग्दैमा आश्चर्य मान्नुहँुदैन’ देउवाले प्रष्ट पार्दै भने ‘त्यसकारण मुद्दाको कुरा हामीले उठाउने कुरा छैन् ।’
खड्का ठूलो अडानको भएको व्यक्ति भएको बताए । पार्टी र जनताको लागि समर्पित व्यक्ति भएको उनले बताए ।
स्व.खड्काविरुद्ध ०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो । अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएपनि सर्वोच्चबाट भने खड्का दोषी ठहर भएका थिए । पटक–पटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्का जेलसम्म पुगे ।
२ करोड ३६ लाख सम्पत्तिको स्रोत नखुेलेको भन्दै अख्तियारले सर्वोच्चमा ०६३ चैतमा पुनरावेदन गरेको थियो । सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय बिगो र त्यति नै जरिवानाको फैसला सुनायो । २०७० मा जेलमुक्त भएका थिए ।
वैधानिक रूपमा कमाएको सम्पत्ति र अन्य सम्पत्तिको अन्तरलाई अस्वाभाविक भन्दै सर्वोच्चले दोषी ठहर गरेको थियो । खड्काको २०७४ साल चैत १६ गते निधन भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies