पिन्टु यादव/मध्यान्ह
सप्तरी : मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रदेश सरकार पुरानै शैलीमा चलाउन खोजे आफुहरुलाई काम गर्न असहज हुने बताएका छन् ।
आइतबार तिरहुत गाउँपालिका–५ लोहजारास्थित रहेको धार्मिक पर्यटकीय स्थल ठाकुरबाबा दह परिसरमा आयोजित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ११ औं अधिवेशनलाई सम्बोधन गर्दै उनले विगत ६ वर्षदेखि सुशासन, सेवा प्रवाह र विकास निर्माणका सन्दर्भमा आलोचित हुँदै आएको सरकारले अब कार्यशैलीमा सुधार गर्नुपर्ने सुझाए ।
प्रदेश सरकारको बजेट निर्माण र कार्यान्वयन, सुशासन र विकास र सेवा प्रवाहका सन्दर्भमा बेथिति औंल्याउँदै उनले एमाले सरकारमा आएपछि सुराकीको नाममा लिने गरेको सुविधा खारेज गरिएको स्मरण गराए । ‘जुन प्रकारका सुविधाहरु प्राप्त गरिरहेका थिए । हामी सरकारमा सहभागी भएदेखि अर्थात एमाले मधेश सरकारमा सहभागी भएपछि सुराकीको नाम लिने सुविधा खारेज गरेका छौं । यसर्थ एमालेसँग काम गर्दा कार्यशैलीमा सुधार गर्नुपर्ने आग्रह गर्दछु’ उनले भने ।
जनताले प्रदेश सरकारका बेथितिहरु सम्बन्धमा आलोचना गरिरहेको बताउँदै उनले मधेश सरकारले अमुक मन्त्रीको अँध्यारो कोठामा बजेट बनाउने परिपाटी बदल्नुपर्ने बताए ।
मुख्यमन्त्री र अर्थमन्त्रीलाई इंगित गर्दै उनले हरेक मन्त्रालयको सिलिङ बजेटमा समेत हस्तक्षेप गरिदिने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।
हस्तक्षेपको आरोप खेपिरहेका जसपा नेतृत्वको मधेश सरकारका मुख्यमन्त्री र अर्थमन्त्रीलाई इंगित गर्दै उनले कार्यशैली बदलेर काम गर्न आग्रह गरे ।
‘संघीयताको मुल मर्म नै राज्यको शक्ति बाँडफाँट हो । संविधानले अधिकार सम्पन्न प्रदेश सरकारको परिकल्पना गरेको छ ।’ संघ सरकारले संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार सम्पन्न शक्तिशाली सरकार बनाउन कन्जुस्याइँ गरिरहेको गुनासो गर्दै उनले केन्द्रले गरिरहेको विभेदबारे सञ्चारजगतले कलम चलाउनुपर्ने बताए ।
संघीय सरकारलाई विभेदकारीको संज्ञा दिँदै मन्त्री लेखीले कुल बजेटको २० प्रतिशत बजेट मात्रैले प्रदेश सरकार र स्थानीय सरकार कसरी चल्ने बताए । संघीय सरकार आफैंले ८० प्रतिशत बजेट चलाउने भएपछि प्रदेश र स्थानीय सरकारबाट जनताले कस्तो अपेक्षा गर्ने भनेर प्रश्न उठाए ।
महासंघको अधिवेशन उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पूर्व केन्द्रीय सदस्य अवधेश कुमार झा, मधेश प्रदेश आम सञ्चार प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवको अध्यक्षता र मन्त्री लेखीको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies