प्रेमचन्द्र झा/मध्यान्ह
राैतहट : जिल्लास्थित लाल वकैया नदीलगायत स-साना खाेला नाला सुक्न थालेपछि छाडा चाैपाया र चरा चुरुङ्गी मर्न थालेका छन् । करिब दुई महिना आगाडिदेखि लाल बकैया नदी सुकेको छ । पछिल्लो पटक २०८० साल फागुन महिनामा पानी परेको थियो । त्यसपछि लागातार तापक्रम दैनिक बढ्दै आएको छ । मंगलबार राैतहटकोअधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको छ । तापक्रम बढेसँगै पश्चिमी वायुको तेज गतिले जनजीवन प्रभावित भएको छ भने बोट बिरुवाका साथै अन्न बालीमा समेत असर परेको छ ।
यसैबीच पानी खान नपाएर जिल्लाका देवाही गाेनाही नगरपालिका वडा नम्बर २ स्थित एउटा जंगली चाैपाया घाेड गदहा मृत अवस्थामा फेला परेकाे स्थानीय सञ्चारकर्मी कमल यादवले बताए । प्राकृतिक खाेला नदी सुकेका कारण जंगली जनावर, छाडा चौपाया तथा चरा चुरुङ्गी पानी खान नपाएर मर्न थालेको उनले बताए ।
सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरी पशुपक्षीलाई पानी खाने व्यवस्था मिलाउन उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । लाल बकैया नदीको दायाँ बायाँ करिब ५ /५ किलोमिटर दुबैतर्फको दुरीमा निजी तथा सार्वजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चाैपायालाई पानी खान समस्या भएको देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए । पानीको समस्या मधेशमै बढ्दै गएको बताउँदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय: जसाे पानीका मुहान सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए ।
चाैपाया तथा जंगली जनावर चराचुरुङ्गीलाई आफूले स्थानीयस्तरबाट जन श्रमदान गरी सुकिसकेको लाल बकैया नदीमा पाेखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पूर्वनगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : नेपाल पत्रकार महासंघ शाखा उदयपुरको १३औं साधारण सभा सम्पन्न भएको छ । कोशी प्रदेश उपसभामुख सृजना दनुवारले महासंघ परिसरभित्र बनाइएको नेपाल पत्रकार महासंघ शाखा उदयपुरको स्ट्याचु विधिवत रुपमा उद्घाटन गरिन् ।
स्वतन्त्र तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङले पत्रकारिताको विकासक्रमसँगै विगतका आफ्ना दिनहरुमा भन्दा अहिले पत्रकारिता गर्न सूचना प्रविधिको विकासले सहज तुल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले समाचार लेखेपछि लुकेर हिँड्नु, जेल जानुपर्ने अवस्था रहेको बताए ।
नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले देशमा पत्रकारिता क्षेत्रमा पारिश्रमिक, तलव, मिडिया हाउसहरुका संकटकालिन समस्याहरुका अवस्थाहरुका बारेमा पत्रकार महासंघमा चुनौती र राज्यले विशेष सरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
अधिकारीले नेपाली पत्रकारिता क्षेत्रमा ठूलो मिडिया हाउसहरु बन्द हुँदै जानु, श्रमजीवी पत्रकारहरुले पारिश्रमिक, तलब भत्ता नपाउनु निष्कासित हुनुले अन्तर्राष्ट्रिय क्षेत्रहरूमा नराम्रो सन्देश गएसँगै प्रश्न चिन्ह खडा भएको बताइन् । उनले सोसाइल मिडिया सामाजिक सञ्जाल, यूट्युवमा हालिएका विभिन्न मोनिटाइज गरिएका भिडियो विभिन्न भ्रामक अश्लिल सूचना भिडियोहरुले समाजलाई गलत दिशा तिर डोहो¥याउँदै लगेसँगै पत्रकारहरुलाई यसले चुनौती र समस्याहरूमा बढवा दिँदै लगेको बताइन् ।
कोशी प्रदेश उपसभामुख सृजना दनुवारले पत्रकार राज्यको चौथो अंग रहेको उल्लेख गर्दै सत्यतथ्य समाचार सम्प्रेशनसँगै पत्रकारिता पेशा मर्यादित र सम्मानित हुनुपर्ने बताइन् । दनुवारले पत्रकारिता तथा सञ्चार क्षेत्रको विकास सरक्षणसँगै पत्रकारिताभित्रको समस्या शुद्धीकरणमा कोशी प्रदेशले आवश्यक ठानेको बताइन् ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुराको भगवती मा.विमा सूचनाको चलखेल र लोकतन्त्र विषयक वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
‘आफैंबाट शुरु गरौं, मिथ्या सूचना अन्त्य गरौं’ भन्ने नाराका साथ सम्पन्न वतृत्वकला प्रतियोगितामा बोल्ने प्रतिस्पर्धी सहभागी विद्यार्थीहरुले मिथ्या सूचनाको घटना, मिथ्या सूचना फैलिनबाट रोक्ने उपाय, मिथ्या सूचना फैलिन नदिन विद्यार्थीले गर्नुपर्ने भूमिका लगायतका विषय प्रस्तुत गरेका थिए ।
प्रतिस्पर्धीबाट प्रथम स्थान हासिल गरेका विद्यार्थी नर्मदा गिरिले मिथ्या सूचनाले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले सूचनाको भरपर्दो आधार लिएर मात्र विश्वास गर्नुपर्ने र धारणा बनाउनुपर्ने बताएकी थिइन् । पछिल्लो समय सामाजिक सञ्जालमा सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न मिथ्या सूचनाहरु भ्यूज र सेयरकै लागि प्रशारण तथा प्रकाशन गरिरहेकाले यसबाट आम नागरिक कसरी सचेत हुने भन्ने समेत बताएकी थिइन् ।
यस्तै नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रमणी भुसालले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गलत, भ्रामक, तथ्यहिन सूचना तथा समाचार सम्प्रेषण गर्नाले आम पत्रकारिता जगतमै चुनौति थपिएको बताए ।
छिटो सूचना दिने, धेरै सेयर र भ्युज पाउने आशमा धेरै सञ्जाल प्रयोगकर्ताले आधारहीन सूचनालाई प्राथमिकता दिएको बताए ।
उनले सामाजिक सञ्जालमा आएका समाचारलाई मात्र विश्वास गर्न नहुने बताउँदै एकै स्रोतको भर नपरी अन्य स्रोतबारे पनि जानकारी लिन आम नागरिकलाई अनुरोध गरे ।
साथै मिथ्या सूचना सम्बन्धी कार्यक्रमले विद्यार्थीलाई समेत सचेत हुन महत्वपूर्ण भूमिका खेलेको भगवति माध्यमिक विद्यालयका प्रअ कृष्ण प्रसाद खनालले बताए ।
खनालले यस्ताखाले कार्यक्रम विद्यालयस्तरमा गर्न आवश्यक रहको बताउँदै यी कार्यक्रमले विद्यार्थीको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्न, अध्ययन गर्ने बानीको विकाससँगै आमजनमानसमा सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रतियोगितामा १४ जना प्रतिस्पर्धीमध्य नर्मदा गिरि प्रथम, लक्ष्मी सुनार द्वितीय र निश्चल भुसाल तृतीय भएका छन् । उनीहरुलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । कार्यक्रम इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटको सहयोग र सागर परियारले सहजीकरण रहेका थिए ।
राजकुमार भुजेल/मध्यान्ह
दोलखा : काठमाडौंबाट हराएको मोटरसाइकल दोलखामा भेटिएको छ । जिल्लाको सदरमुकाम चरिकोटमा जिल्ला ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरीक्षक ठाकुर प्रसाद भट्टराईको कमाण्डमा खटिएको टोलीले सदरमुकाम चरिकोटमा चेकजाँच गर्ने क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका – १ मा बस्ने बिमल खड्काको वागमती प्रदेश ०२– ०२८ प ८२२९ नम्बर प्लेटको मोटरसाइकल फेला परेको हो ।
प्रहरीले चेकजाँच गरेपछि मोटरसाइकल छाडी भोगेको र मोटरसाइकलको बारेमा अनुसन्धान गर्दै जाँदा काठमाडौंमा हराएको भनि प्रहरीमा उजुरी परेको खुल्न आएको थियो ।
खड्काले गत वर्षको चैत १० गते उपत्यका ट्राफिक कार्यालय काठमाडौंमा मोटरसाइकल हराएको सूचना प्रहरीलाई दिएलगत्तै विभिन्न ठाउबाट चेकजाँच गर्ने क्रममा मंगलबार सदरमुकाम चरिकोटबाट तामाकोशी जाने क्रममा मोटरसाइकललाई फेला पारि सवारीधनी खड्कालाई हस्तान्तरण गरेको जिल्ला ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरीक्षक भट्टराईले जानकारी दिए ।
उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेर बागमती प्रदेश ०२–०२१ प ७४६६ नम्बरको नयाँ नम्बर प्लेट बनाइ चलाएको अवस्थामा फेला पारेको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ । मोटरसाइकल चोर्नेको भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाबाट चीनको ताक्लाकोट जान अन्यत्र जिल्लाबाट आउनेको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाको व्यक्ति कम्तिमा बसाइँसराइ गरेको तीन वर्ष नपुगी सीमा पास नदिने निर्णय गरेको छ ।
ताक्लाकोट जानकै लागि बाहिरबाट बसाइँसराइ गर्नेको संख्या निकै बढेपछि स्थानीय प्रशासनले यो व्यवस्था लागू गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले ताक्लाकोट जानकै लागि बाहिर जिल्लाबाट बसाइँसराइ गरेर आउने संख्या बढेपछि यसलाई रोक्न कडाइ गरिएको बताए । यो नियम तत्काल लागू हुने गरी अब बाहिरबाट आउने जो कोहीले पनि बसाइँसराइ गरेको तीन वर्षसम्म नपुगेका जिल्ला बाहिरका नागरिकलाई ताक्लाकोट जाने सीमा पास नदिइने भएको छ ।
बसाइँसराइ गरेर आउनेहरु हुम्ला बस्ने भन्दा पनि ताक्लाकोट जानका लागि मात्र यसो गरेको हुँदा त्यसलाई नियन्त्रण गर्न तीन वर्ष बसाइँसराइ गरेको हुनुपर्ने प्रावधान लागू गरिएको हो ।
चीनसँग सिमाना जोडिएका जिल्लावासीलाई स्थानीय प्रशासनले सीमा पासका आधारमा हिल्साबाट चीनको ताक्लाकोटसम्मको ३० किलोमिटर क्षेत्रमा जान पाउने व्यवस्था गर्दै आएको छ । हुम्लाबाट ताक्लाकोट जान कर्णाली, बागमती र सुदूरपश्चिमका जिल्लाबाट बसाइँसराइ गरेर हुम्ला आएर ताक्लाकोट जाने संख्या बढेका कारण यसलाई रोक्न यो व्यवस्था लागू गरिएको छ । हुम्लामा बसाइँसराइ गर्न आउनेहरूले सिमकोट गाउँपालिकाका विभिन्न वडाका कुना कन्दरामा जग्गा किन्ने गरेको पाइएको छ । उक्त जग्गा उपभोगका लागि नभएर ताक्लाकोट जाने प्रयोजन मात्र देखिएको छ ।
जिल्ला बाहिरका नागरिकले चीनमा कुनै अप्रिय घटना घटे जिल्लाको बदनाम हुने सम्भावना रहेकाले पनि यसलाई रोक्न आवश्यक रहेको देखिएको छ । चीनले सीमा जोडिएका स्थानीय बासिन्दालाई दिएको सुविधा अरुले लिन थालेपछि हुम्लावासीको रोजगारी पनि खोसिने देखिएको छ । ताक्लाकोट जिल्लावासीको व्यापार व्यवसाय, मजदुरी काम गर्ने उपयुक्त थलो बनेको छ । यस वर्ष पनि करिब पाँच हजार हुम्लावासीले नयाँ सीमा पास लिने र पूरानो नवीकरण गर्ने कार्य हालसम्म भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सपना बोहरा/मध्यान्ह
दाङ : हिजोको सिमासार क्षेत्र आज सुक्खा भएको छ । हिजोको हरियाली वन मरुभूमिमा परिवर्तन हुँदैछ । हिजो गाईवस्तु चराउने डाँडा तथा वनहरु सहरीकरण भएर घरहरुले ढाँकिएका छन् । झन्–झन् पानीको हाहाकार बन्दै गएको छ ।
यो अवस्था हो दाङको पूर्वी क्षेत्र देउखुरीको । तर एउटा गतिलो विकास भएको देख्न सकिन्छ । त्यो हो बाटो । वनको बीच बीचबाट बाटोको ट्रयाक खोलिएको छ ।
जुन बाटो जोखिमपूर्ण देखिन्छ । तर ट्याक्टर, टिपरहरु सहजै आवत–जावत हुन्छन् । त्यो बाटोबाट दिनरात नदीजन्य पदार्थ, काठहरु निकास भइरहेका हुन्छन् । जो वैध हो, वा अवैध यसै भन्न सकिन्छ ।
ठूलो सम्भावना भएको देउखुरी समस्या पनि उत्तिकै छ । वर्खाको समयमा राप्ती नदी उर्लिएर आउँदा देउखुरी क्षेत्र नै डुवानमा पर्छ । गर्मी समयमा सबैभन्दा बढी आगलागी हुने पनि देउखुरी नै हो । जसको कारण पीडै पीडामा छन् देउखुरीवासी ।
दाङको देउखुरी चुरे क्षेत्रको लागि संवेदनशिल मानिन्छ । बढी ढुंगा गिट्टी बालुवा उत्खनन् हुने पनि देउखुरी नै हो भने वन पैदावार पनि देउखुरी नै हुनेगर्छ । वर्षामा डुवान र गर्मीमा आगलागीको हैरान खेप्दै आएका देउखुरीवासीलाई केही न केहीको विपद आइलागेको हुन्छ ।
गत आइतबार मात्रै राजपुर गाउँपालिका–७, हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भयो । १० गोठ समेत जलेर नष्ट भएको राजपुर–७ का वडाध्यक्ष पुष्कर वलीले जानकारी गराए । नजिकै रहेको वनमा लागेको डढेलो गाउँमा पसेको थियो । त्यो भन्दा पहिले दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलिया निवासी अन्दाजी ८७ वर्षीय वीरबहादुर बोटेको आगोमा जलेर मृत्यु भएको घटना ताजै छ ।
हिजोआज सुखा मौसममा विभिन्न स्थानहरुमा वन डढेलो लाग्ने हुँदा सतर्क रहन नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले सबैमा अनुरोध गरे । ‘आगलागीका घटना बढी रहेका छन्, सयौं घर जले, दर्जनौं चौपाया र अधिकांश कुखुराहरु जलेका छन्’ संयोजक थापाले भने, ‘देउखुरीबासीलाई विपद्ले नछाड्ने भयो ।’
हिजोआज आगोलागीको त्रास छ । देउखुरीका श्यामलाल चौधरीले भने, ‘गर्मी समयमा बढी आगलागी हुन्छ, कति बेला कहाँ आगो सल्किने हो थाहा छैन ।’ वर्षामा डुबानमा परिन्छ कि भन्ने चिन्ता हुन्छ, गर्मीमा आगोको डर भएको उनले बताए ।
गढवा गाउँपालिकाकी रेमन्ती चौधरीले पनि देउखुरीलाई विपद्को सामाना गरिरहनुपर्ने बताइन् । गर्मीमा आगलागी र वर्षमा डुवानको ठूलो डर हुने गरेको उनले बताइन् ।
‘गर्मी समयमा आगो लाग्छ भनेरे धेरै डर लाग्छ’ उनले भनिन् ‘वर्षामा डुवानमा परिन्छ की भन्ने ठूलो चिन्ताले सताउँछ ।’ डरैडर र चिन्ताले सताउने गरेको उनले बताइन् । वनमा गाईबस्तु चराउन लैजाँदा पनि डढेलोमा पर्ने हो कि भन्ने ठूलो डर लाग्ने चौधरीले बताइन् ।
देउखुरी क्षेत्रमा अधिकांश घरमा अझै पनि फुसको छानो छ । स्थानीय तहले वन डढेलो तथा अग्नी नियन्त्रणका विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएपनि न्यूनीकरण हुन सकेको छैन ।
काठमाडौं : विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासहित तीनै जनालाई सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज थापासहित डा प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गत असोज १४ गते तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकोे थियो । अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै रु एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।
आबिद हुसेन/मध्यान्ह
वीरगञ्ज : वीरगञ्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद चोरी भएको छ । बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको भनेर बैंकका तर्फबाट मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
उनका अनुसार सोमबार बिहान पौने ९ बजेतिर बैंकमा पुग्दा मूल गेटमा अर्कै नयाँ ताला लगाएको देखेपछि बैंकका सुरक्षागार्डले बैंकका शाखा प्रबन्धक पवन पौडेललाई फोन गरेर खबर गरेका थिए । पौडेलले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले मूल गेटमा लगाइएको ताला फोडेर भित्र प्रवेश गर्दा बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको पाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
बैंकभित्र टिनको बाकसभित्र राखिएका १ सय र २० रुपैयाँ दरका नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थापाले बताए । उनले भने, ‘चोरहरुले टिनको बाकस वेल्डिङ गर्ने मेसिनले काटेर रकम झिकेर लगेको अवस्था देखिन्छ । बैंकको तिजोरी (भल्ट)भित्र पनि अझ धेरै रकम थियो । तर त्यो तिजोरी भने सुरक्षित थियो ।’
थापाका अनुसार नबिल बैंककोे उक्त शाखामा रातिको समयमा सुरक्षागार्ड पनि बस्दैन थिए । राति सुरक्षागार्डसमेत नभएको मौका छोपेर चोरहरुले बैंकबाट पसेर चोरी गरेको उनले बताए ।
प्रााम्भिक अनुसन्धानका क्रममा सीसीटीभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चार पाँच जनाको संख्यामा रहेका चोरहरुले मूल गेटको ताला फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको देखिएको थापाले जानकारी दिए । रकम चोेरेर बैंकबाट बाहिर निस्कने बेला चोरहरुले मूल गेटमा अर्कै नयाँ ताला लगाएर हिँडेको पनि देखिएको थापाले बताए ।
मंगलबार बैंकका शाखा प्रमुख पौडेलले बैंकमा चोरी भएको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा जोहेरी दिएको थापाले बताए । प्रहरीले बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा विस्तृतरुपमा अनुसन्धान गरिरहेको उनले बताए ।
बैंकमा चोरीको घटना आइतबार राति नै भएको भएपनि यसबारे जानकारी लिन सोमबार प्रयास गर्दा प्रहरीले जानकारी दिन मानेको थिएन । मंगलबार शाखा प्रबन्धक पौडेलले जाहेरी दिएपछि मात्र प्रहरीले बैंकमा भएको चोरीको घटनाबारे जानकारी दिएको हो ।
आइतबार राति चोरी भएपछि सोमबारदेखि नै उक्त शाखाबाट कारोबार बन्द गरिएको छ । सोमबार बिहान बैंकले सूचना टाँसेर कारोबार बन्द गरिएको जानकारी गराएको थियो ।
काठमाडौं : मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त भएका छन् ।
विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका हुन् ।
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
पाटन : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
आगलागी निभाउने क्रममा घाइते भएका दुईजनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएकामा एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी गराए ।
आगो निभाउने क्रममा घाइते भएका शंकर पहरी र रमेश पहरीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये शंकर पहरीको मृत्यु भएको उनले बताए । ललितपुरको गोदावरीस्थित लेले जंगलमा तीन-चार दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ ।
आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाइ छ । यस्तै, डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies