आबिद हुसेन/मध्यान्ह
वीरगञ्ज : वीरगञ्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद चोरी भएको छ । बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको भनेर बैंकका तर्फबाट मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
उनका अनुसार सोमबार बिहान पौने ९ बजेतिर बैंकमा पुग्दा मूल गेटमा अर्कै नयाँ ताला लगाएको देखेपछि बैंकका सुरक्षागार्डले बैंकका शाखा प्रबन्धक पवन पौडेललाई फोन गरेर खबर गरेका थिए । पौडेलले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले मूल गेटमा लगाइएको ताला फोडेर भित्र प्रवेश गर्दा बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको पाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
बैंकभित्र टिनको बाकसभित्र राखिएका १ सय र २० रुपैयाँ दरका नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थापाले बताए । उनले भने, ‘चोरहरुले टिनको बाकस वेल्डिङ गर्ने मेसिनले काटेर रकम झिकेर लगेको अवस्था देखिन्छ । बैंकको तिजोरी (भल्ट)भित्र पनि अझ धेरै रकम थियो । तर त्यो तिजोरी भने सुरक्षित थियो ।’
थापाका अनुसार नबिल बैंककोे उक्त शाखामा रातिको समयमा सुरक्षागार्ड पनि बस्दैन थिए । राति सुरक्षागार्डसमेत नभएको मौका छोपेर चोरहरुले बैंकबाट पसेर चोरी गरेको उनले बताए ।
प्रााम्भिक अनुसन्धानका क्रममा सीसीटीभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चार पाँच जनाको संख्यामा रहेका चोरहरुले मूल गेटको ताला फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको देखिएको थापाले जानकारी दिए । रकम चोेरेर बैंकबाट बाहिर निस्कने बेला चोरहरुले मूल गेटमा अर्कै नयाँ ताला लगाएर हिँडेको पनि देखिएको थापाले बताए ।
मंगलबार बैंकका शाखा प्रमुख पौडेलले बैंकमा चोरी भएको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा जोहेरी दिएको थापाले बताए । प्रहरीले बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा विस्तृतरुपमा अनुसन्धान गरिरहेको उनले बताए ।
बैंकमा चोरीको घटना आइतबार राति नै भएको भएपनि यसबारे जानकारी लिन सोमबार प्रयास गर्दा प्रहरीले जानकारी दिन मानेको थिएन । मंगलबार शाखा प्रबन्धक पौडेलले जाहेरी दिएपछि मात्र प्रहरीले बैंकमा भएको चोरीको घटनाबारे जानकारी दिएको हो ।
आइतबार राति चोरी भएपछि सोमबारदेखि नै उक्त शाखाबाट कारोबार बन्द गरिएको छ । सोमबार बिहान बैंकले सूचना टाँसेर कारोबार बन्द गरिएको जानकारी गराएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies