काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षी व्यवसायीहरूका आन्तरिक तयारीले तीव्रता पाएको छ । आगामी वैशाख २८ गते हुने नयाँ नेतृत्वको निर्वाचनका लागि अध्यक्ष तथा पदाधिकारीका आकांक्षी व्यवसायी आन्तरिक छलफलमा लागिरहेका छन् ।
साधारण सभाको मिति आउन करिब डेढ हप्ताभन्दा कम समय बाँकी छ । व्यवसायीहरूले प्रतिस्पर्धीलाई आफूभन्दा व्यवसाय, पार्टी राजनीति र अनुभवले समेत कनिष्ठ र नेतृत्व क्षमताका दृष्टिकोणले कमजोर रहेको प्रचार गर्दै मतदातालाई आफूतर्फ तान्ने क्रम शुरु गरेका छन् । कतिपय ब्यबलासीहरु आफूले नजिते पनि हराउने अभियानमा भित्र भित्रै खटिएका पाइन्छन् ।
एशोसिएसनको विधानले २३ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरेको छ । कार्यसमितिमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २३ सदस्यीय रहने व्यवस्था छ । साधारण सभापछिको निर्वाचनले १९ जनाको मात्रै निर्वाचन गर्नेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ ।
एशोसिएसन कार्यसमितिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने भएपछि व्यवसायीबीच एशोसिएसनको नेतृत्वमा जान आन्तरिक प्रतिस्पर्धा बनेको बताइएको छ । एशोसिएसनलाई नेपाली कांग्रेसले महाधिवेशनमा तीन जना महाधिवेशन प्रतिनिधि पठाउन कोटा प्रदान गर्ने गरेको छ, तर आगामी कार्यसमितिको कार्यकाल अवधिमा नेपाली कांग्रेसको महाधिवेशन नहुने भएकाले महाधिवेशन प्रतिनिधि तोक्ने अवसर भने निर्वाचित कार्यसमितिले पाउने छैन ।
हालसम्म अध्यक्षका लागि चार जना व्यवसायी आ–आफ्नो क्षेत्रबाट लागिपरेको स्रोतको भनाइ छ । महासचिवलगायतका पदाधिकारीका लागि तीन जना व्यवसायीले आकांक्षा राखेको भएपनि अध्यक्षको टुंगो लागेपछि मात्रै उनीहरू खुल्ने योजनामा देखिन्छन् । अहिले नेतृत्व लिन भित्र भित्रै जोड घटाउ तिब्र रुपमा चलिरहेको बुझिएको छ । चुनावी प्रतिश्पर्धामा भने दुई प्यानल खडा हुने एशोसिएसनलाई नजिकबाट बुझेका जानकारहरु दावी गर्छन् । गत निर्वाचनमा तत्कालीन उपाध्यक्ष तारानाथ अर्याल, पूर्वउपाध्यक्ष ऋषि शर्मा, हालका अध्यक्ष कुमुद खनालबीच प्रतिस्पर्धा भएको थियो । हाल एशोसिएसनको सदस्यभन्दा पदाधिकारीमा व्यवसायीहरुको आकर्षण बढी देखिएको छ । नेतृत्वका आकांक्षीहरूले आफूले जिते एशोसिएसनलाई चुस्त नेतृत्व प्रदान गर्न सक्ने दाबी गर्ने गरेका छन् ।
२०६३ सालमा स्थापना भएको एशोसिएसनका संस्थापक अध्यक्ष तिलकबहादुर रानाभाट पछि क्रमशः यम बहादुर केसी, किरणकिशोर घिमिरे, विमल ढकाल, प्रज्ञान न्यौपाने र विष्णुप्रसाद गैरे सबै कार्यसमितिमा निर्विरोध निवाचित भएका थिए । पछिल्ला केही वर्षयता सहमति हुन नसकेपछि हंशराज वाग्ले, नरेन्द्र प्रसाद ढकाल र खनाल निर्वाचनको माध्यमबाट अध्यक्ष चयन भएका हुन् ।
उता एशोसिएसनले भने लेवी अर्थात सदस्यता शुल्क बुझाएर निर्वाचनका लागि योग्य बन्न निरन्तर आग्रह गरिरहेको छ । एशोसिएसनले निर्वाचनसहतिको १२औं साधारण सभामा भाग लिन एशोसिएसनसँग आवद्ध हुन कम्पनीको लेटरहेडमा निवेदन, इजाजत पत्रको प्रतिलिपि, शेयर लगतको प्रमाणित प्रतिलिपि, नागरिकताको प्रतिलिपि, अटो साइजको २ प्रति फोटोसहित तोकिएको लेवी समयमै बुझाउन आग्रह गरेको छ । समयमा लेवी बुझाएर सदस्यता नवीकरण नगरे साधारण सभा र निर्वाचनमा भाग लिन नदिने वर्तमान कार्यसमितिको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies