काठमाडौं : नेपाली कांग्रेसकाे शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको साधारण सभा र नयाँ नेतृत्व चयनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षी व्यवसायीहरूका आन्तरिक तयारीले तीव्रता पाएको छ । आगामी वैशाख २८ गते हुने नयाँ नेतृत्वको निर्वाचनका लागि अध्यक्ष तथा पदाधिकारीका आकांक्षी व्यवसायी आन्तरिक छलफलमा लागिरहेका छन् ।
साधारण सभाको मिति आउन करिब दुई हप्ताभन्दा कम समय बाँकी छ । व्यवसायीहरूले प्रतिस्पर्धीलाई आफूभन्दा व्यवसाय, पार्टी राजनीति र अनुभवले समेत कनिष्ठ र नेतृत्व क्षमताका दृष्टिकोणले कमजोर रहेको प्रचार गर्दै मतदातालाई आफूतर्फ तान्ने क्रम शुरु गरेका छन् । कतिपय आफूले नजिते पनि प्रतिस्पर्धी रोक्न भन्दै खटिएका देखिन्छन् ।
एशाेसिएसन कार्यसमितिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने भएपछि व्यवसायीबीच एशोसिएसनको नेतृत्वमा जान आन्तरिक प्रतिस्पर्धा बनेको बताइएकाे छ । एशोसिएसनलाई नेपाली कांग्रेसले महाधिवेशनमा तीन जना महाधिवेशन प्रतिनिधि पठाउन कोटा प्रदान गर्ने गरेको छ, तर आगामी कार्यसमितिको कार्यकाल अवधिमा नेपाली कांग्रेसकाे महाधिवेशन नहुने भएकाले महाधिवेशन प्रतिनिधि ताेक्ने अवसर भने निर्वाचित कार्यसमितिले पाउने छैन ।
उता एशाेसिएसनले भने लेवी अर्थात सदस्यता शुल्क बुझाएर निर्वाचनका लागि याेग्य बन्न निरन्तर आग्रह गरिरहेकाे छ । एशोसिएसनले निर्वाचनसहतिको १२औं साधारण सभामा भाग लिन एशोसिएसनसँग आवद्ध हुन कम्पनीको लेटरहेडमा निवेदन, इजाजत पत्रको प्रतिलिपि, शेयर लगतको प्रमाणित प्रतिलिपि, नागरिकताको प्रतिलिपि, अटो साइजको २ प्रति फोटोसहित तोकिएको लेबी समयमै बुझाउन आग्रह गरेको छ । समयमा लेबी बुझाएर सदस्यता नवीकरण नगरे साधारण सभा र निर्वाचनमा भाग लिन नदिने वर्तमान कार्यसमितिको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies