काठमाडौं : वैदेशिक रोजगारीमा रहेका नेपालीले चासो नदेखाएपछि गैरआवासीय नेपालीलाई वैदेशिक रोजगार बचतपत्र–२०८६ मा लगानीका लागि आह्वान गरिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार एक सूचना प्रकाशन गरी १ अर्ब रूपैयाँको उक्त बचतपत्र खरिदका लागि आह्वान गरेको हो ।
बचतपत्र वैदेशिक रोजगारीमा संलग्न वा वैदेशिक रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली नागरिकले खरीद गर्न सक्ने प्रावधान राखिएको छ । वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएकाहरूले आफू वा आफ्नो परिवारको (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा र छोरी)को नाममा बचतपत्र खरिद गर्न सक्नेछन् ।
वैशाख २३ देखि जेठ २२ गतेसम्म बिक्री खुला गरिएको उक्त बचतपत्र घटीमा १० हजार र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकको रकमसम्म खरिद गर्न पाइने सूचनामा उल्लेख छ । गत वर्ष वार्षिक १२ प्रतिशत रहेको बचतपत्रको वार्षिक ब्याजदर यसपटक भने ९ प्रतिशतमा झारिएको छ ।
सरकारले अति नै सुरक्षित र आकर्षक भनेपनि वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरूले भने उक्त बचतपत्रमा न्यून लगानी गर्ने गरेका छन् । भारतमा रहेका नेपालीहरूले भने त्यसमा आवेदन गर्न पाउँदैनन् । मलेसिया, साउदी अरेबिया, कतार, ओमानलगायतका देशमा गएका नेपालीले कमाएको रेमिट्यान्स रकम बचत गर्ने र बचत भएको रकम उत्पादनमूलक क्षेत्रमा लगाइ पुँजी निर्माण गर्ने उद्देश्यका साथ राष्ट्र बैंकले २०६७ सालदेखि वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न शुरू गरेको हो । तर उक्त बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका कामदारको आकर्षण र ध्यान पुग्न नसकेको विज्ञहरू बताउँछन् ।
विगतमा एक अर्ब रुपैयाँको बचतपत्र बिक्री आह्वान गर्दा करोडको मात्रै बिक्री भएको थियो । अर्थविद् शतिस आचार्यले स्रोत मुलुकमै गएर वैदेशिक रोजगार बचतपत्रमा गरिने लगानी र त्यसबाट प्राप्त हुने लाभका बारेमा प्रचार गरी कामदारको ध्यानाकर्षण गर्नुपर्ने बताए ।
बचतपत्र खरिदका लागि आवेदनकर्ताले आफ्नो राहदानी, भिसाको प्रतिलिपि, विदेशी मुद्रामा खाता रहेको भए बचतपत्र खरिदमा प्रयोग भएको उक्त रकम, जम्मा वा खर्च भएको बैंक स्टेटमेन्ट, विदेशमा कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि, पासपोर्ट साइजका दुईप्रति फोटो, परिवारका सदस्यका नाममा खरिद गर्ने भए उनीहरूको नागरिकता प्रमाणपत्र, नाबालिगको नाममा भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies