दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : शनिवार इलाम– २ को प्रतिनिधि सभा सदस्य र बझाङ–१ (क) मा उपनिर्वाचन भएको छ । राजनीतिक दलहरुले आगामी राजनीतिबारे जनताको चाहना बुझ्ने अवसरका रुपमा लिएर प्रतिष्ठाकै विषय बनाएका थिए । तर, इलाम–२ मा ४० प्रतिशत र बझाङ (क) मा ५० प्रतिशत मतदाता मतदान स्थलमै पुगेनन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार इलाम–२ मा करिब ६० प्रतिशत मतदान भएको छ । बझाङ–१ (क) मा करिब ५० प्रतिशत मतदान भएको छ । ४ मंसिर २०७९ मा भएको चुनावमा इलाम–२ मा करिब ६० प्रतिशत मत खसेको थियो । बझाङ–१ (क) मा करिब ५३ प्रतिशत मत खसेको थियो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता पाण्डेयले बझाङको साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरमार्फत जिल्ला सदरमुकाम लगिने र मतगणना शुरु गरिने जानकारी दिएका छन् । उनका अनुसार बझाङमा आइतबार बिहान १० बजे पछाडि मात्रै मतगणना शुरु हुन सक्नेछ । गत चुनावमा निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत असार २५ गते निधन भएपछि बझाङ १ (क) को प्रदेश सभा सदस्य पदका लागि शनिवार उपनिर्वाचन भएको हो ।
यसैगरी, गत निर्वाचनमा इलाम–२ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विजयी सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । त्यसपछि रिक्त भएको स्थानका लागि शनिवार उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना उम्मेदवार छन् । एमालेका तर्फबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ उम्मेदवार छन् । नेम्वाङलाई माओवादी केन्द्र र नेत्र विक्रम चन्द नेतृत्वको पार्टीले समर्थन गरेको थियो ।
नेपाली कांग्रेसका तर्फबाट १८ महिना अघि सुवास नेम्वाङसँग पराजित डम्बर खड्का नै उम्मेदवार छन् । गत चुनावमा उनी सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।
एमाले, कांग्रेस जस्ता ठूला र अनुभवी दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले प्रतिस्पर्धा गरेका छन् । माओवादी केन्द्र निकट रहेर पत्रकारिता गर्दै आएका लिम्बु उपनिर्वाचनको केही समय अगाडि मात्रै पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । पछि रास्वपामा आवद्ध भएर सोही पार्टीको उम्मेदवार भएका हुन् ।
पहिचानवादी पक्षका तर्फबाट डेकेन्द्रसिंह थेगिम उम्मेदवार छन् । थेगिमलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा), हाम्रो नेपाली पार्टी र लौरो अभियानले समर्थन गरेका थिए ।
रास्वपाका उम्मेदवारलाई स्पष्टीकरण
मतदानको समयमा चुनाव चिन्ह अंकित ब्याज लगाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बु स्पष्टीकरणमा परेका छन् । इलाम–२ मा शनिवार सबैभन्दा पहिले लिम्बुले मतदान गरेका थिए । मतदानको समयमा उनले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएका थिए । लिम्बुले मतदान गरेपछि मतदान गरेको फोटो सार्वजनिक भएको थियो । उक्त फोटो बाहिरिएपछि निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न भनेको हो ।
निर्वाचन आयोगका अनुसार सामाजिक सञ्जालबाट सार्वजनिक भएको फोटोलाई सार्वजनिक रुपमै ग्रहण गरेर आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न निर्देश गरेको हो ।
‘एक जना उम्मेदवार चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गर्न जानुभएछ । यो आचारसंहिता उल्लघंन हो । यसआधारमा स्पष्टीकरण सोध्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनिएको हो’ आयोगका एक आयुक्त भन्छन् ।
यस सम्बन्धमा स्पष्टीकरण आएपछि कारबाही हुने वा नहुने वा भएको खण्डमा के हुने भनी तय हुने आयोगका अधिकारीहरु बताउँछन् । आयोगका अनुसार कारबाही हुने अवस्थामा निर्वाचन सम्पन्न भएपछि समेत कारबाही गर्न असर पर्दैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies