काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सरोकारवाला पक्षसँग छलफल गरेका छन् ।
मन्त्रालयमा भएको छलफलमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल अभिमुखीकरण व्यवसायी महासंघ, नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ लगायतका वैदेशिक रोजगार प्रक्रियामा जोडिएका संस्थाहरुका प्रतिनिधिहरु सहभागी थिए ।
मन्त्री अर्यालले वैदेशिक रोजगार क्षेत्र सुधारका लागि छलफल आयोजना गरिएको भन्दै व्यवसायीहरुले श्रमिकहरुलाई भार पार्ने गरी भएका काम र आ–आफ्नो पक्षमा भएको बेथिति आफैँले सुधार गर्न आग्रह गरेका छन् ।
मन्त्री अर्यालले यसअघि पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि(पहिलो संशोधन), वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि अंग्रेजी भाषा अनिवार्य गर्ने निर्णय, वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने (पहिलो संशोधन) कार्यविधि २०८०, दक्षिण कोरियामा इ–सेभन भिसामा कामदार पठाउने कार्यविधिसहित इजरायल तथा जापानमा निजी क्षेत्र अर्थात् म्यानपावर कम्पनीले पनि कामदार पठाउन पाउने प्रावधान रहेका कार्यविधि स्थगन गरेका थिए ।
मन्त्री अर्यालले ती मुलुकमा नेपाली कामदारका लागि मागपत्र नभएपनि कामदारबाट ठूलो मात्रामा रकम उठाउने योजनाका आधारमा ती कार्यविधि जारी गरेको दाबी गर्ने गरेका छन् ।
मंगलबारको छलफलमा धेरै विषय उठेको भन्दै संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री कुमारले वैदेशिक रोजगार क्षेत्रमा कमीकमजोरी हटाउनुपर्ने पक्षमा मन्त्रालय सकारात्मक देखिनु सकारात्मक भएपनि छलफलमा उठेका विषय निर्णयका रूपमा नआएसम्म आशावादी हुन नसकिने टिप्पणी गरे ।
यसैबीच वैदेशिक रोजगार सम्बन्धी नीति तथा कानूनमा श्रमिकको अधिकार, संघीयताको मर्म तथा अन्तर्राष्ट्रिय नीति कानून अनुरूप समसामयीक सुधार गरियोस् भनी नागरिक समाजका तर्फबाट सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको तर्फबाट संकलन गरिएका सुझाव मंगलबार मन्त्री अर्याललाई हस्तान्तरण गरिएको छ । सञ्जालले तीन महले सुझाव तयार गरी पेश गरेको हो । मन्त्री अर्यालले सुझाव समेटिएको प्रतिवेदन वैदेशिक रोजगार कानून तथा नीति परिमार्जनको लागि डा.गणेश गुरूङको नेतृत्वमा रहेको समितिका संयोजकलाई हस्तान्तरण गरेका छन् ।
समितिले यसै महिनाको अन्त्यसम्म अध्ययन प्रतिवेदन मन्त्री अर्याल समक्ष पेश गर्ने बताएको छ । मन्त्री अर्यालले समितिको प्रतिवेदन पछि वैदेशिक रोजगार क्षेत्रमा नयाँ निर्णय लिने बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies