काठमाडौं : जीवनको उत्तरार्धमा पुगेकी काठमाडौं बुढानिलकण्ठकी ७१ वर्षीया ललिता लामा वैदेशिक रोजगारी ठगीको अभियोगमा पक्राउ परिन् । बुढानिलकण्ठमा नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनमुनि ४ आना जग्गामा बनेको छाप्रामा बस्दै आएकी ७१ वर्षीय लामा वैदेशिक रोजगार विभागको पक्राउ पुर्जी लिएर प्रहरी निवासमै आएपछि शुरुमा अक्क न बक्क परिन् ।
कसैलाई कुनै कुरामा केही असर नपुर्याएकी लामाले आफूलाई पक्राउ नगर्न पटक–पटक आग्रह गरिन् । तर पक्राउ पुर्जी लिएर गएको प्रहरीले उनलाई छोडेन, साथमै लगेर वैदेशिक रोजगार विभाग पुर्यायो । विभाग पुगेपछि प्रहरीले वैदेशिक रोजगार ठगीको जाहेरी देखायो ।
जाहेरीमा लामाको बैंक खातामा वैदेशिक रोजगारीमा यूएई पठाउन भनि २ लाख ५० हजार जम्मा भएको बैंक भौचर देखियो । उनले त्यसपछि वैदेशिक रोजगारीका लागि एक वर्ष अगाडि यूएई गएकी छोरीलाई फोन गरिन् । यूएईबाट छोरीले आफूले आमाको बैंक खाता प्रयोग गरी वैदेशिक रोजगारका लागि रकम लिएको बताइन् । लामाले भनिन्, ‘छोरीले तिमीहरूलाई मात्रै नभएर मलाई पनि झुक्याएर गइछ । तिमीहरू जे भन्छौ त्यही मान्छु । हाइटेन्सन लाइनमुनिको ४ आना जग्गाको मूल्य २२ लाख भयो । बाँकी रकम लिएर त्यही ४ आना जग्गा पास गरी लग, तर मलाई छोडिदेउ ।’
पदम रोकालाई कम्बोडिया पठाइदिन्छु भन्दै श्रीमतीको बैंक खातामा पटक–पटक गरी ७ लाख रुपैयाँ लिएका चितवन राप्ती नगरपालिका–९ लालपुर घर भइ भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजमान श्रेष्ठ फरार छन् । तर उनकी श्रीमती राज्यलक्ष्मी श्रेष्ठ पक्राउ परिन् । सेक्युरिटी गार्डमा एक लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट राज्यलक्ष्मीले ७ लाख लिएको जाहेरी परेको भएपनि राज्यलक्ष्मीले उक्त रकम देख्नसमेत पाइनन् ।
सामान्य पढे लेखेकी ५७ वर्षीय राज्यलक्ष्मी गृहणी हुन् । हातमा प्रहरीले लगाएको हतकडी देखाउँदै उनले भनिन्, ‘श्रीमानज्यूको कृपाले यो उमेरमा यस्तो चुरा लगाउनुपर्यो ।’ पहिले नै सुगरकी रोगी राज्यलक्ष्मी हाल सुगरका साथमा प्रेसर (उच्चरक्तचाप) पनि देखिएको बताउँछिन् । श्रीमान सम्पर्कविहीन भएको र घरमा बालबच्चा बिचल्लीमा परेको उनको मुख्य चिन्ता थियोे । प्रहरीले उनलाई वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगार ठगी मुद्दा चलाउन पहिलोपटक ७ दिनको म्याद थप गरेको छ ।
वैदेशिक रोजगार ठगीमा प्रहरीलाई अनुसन्धानका क्रममा ३० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति हुन्छ । वैदेशिक रोजगार न्यायाधिकरणले माग गर्ने धरौटी बुझाउन नसके उनी पुर्पक्षका लागि थुनामा जाने छिन् ।
हाल वैदेशिक रोजगार विभागमा व्यक्तिगत ठगीका उजुरी अस्वभाविकरुपमा बढेका छन् । त्यसमा विदेशी प्रतिष्ठित कम्पनीमा आकर्षक तलब हुने भन्दै प्रलोभनमा पारी पटक–पटक गरी ठगीमा पर्ने युवायुवतीको संख्यासँगै ठगीका तानावाना बनाउनेहरूले आफन्त र परिवारका सदस्यलाई नै मोहरा बनाएर प्रयोग गरी उनीहरूलाई वैदेशिक रोजगारका लागि रकम बुझ्न लगाएर वा बैंक खाता प्रयोग गरेर फसाउने प्रवृत्ति पनि व्यापक बनेको छ ।
हाल अमेरिका, क्यानडासहित विभिन्न युरोपेली मुलुकमा आकर्षक तलबसहितको रोजगारीको प्रलोभनमा पारी ठगी गरेको उजुरीमा दैनिक विभिन्न व्यक्ति पक्राउ पर्ने गरेका छन् । पक्राउ पर्ने केही वास्तविक ठग भएपनि अधिकांश परिबन्दमा परेका ललिता लामा र राज्यलक्ष्मी श्रेष्ठ जस्ता इमानदार गृहणी हुने गरेको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies