तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : रोजगारीका लागि कतार पुगेका ६ सय भन्दा नेपाली कामदार बिचल्लीमा परेका छन् । एक कम्पनीले तलब सुविधा नदिएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।
ती कम्पनीमा साढे दुई वर्षदेखि करिब २ दशकसम्म काम गरेका कामदारहरु छन् । ‘कम्पनीका ४ वटा साइड चलेका थिए । तर तलब पनि आएन, साइटमा काम गर्ने सामग्री पनि छैन’ एक पीडितले मध्यान्ह दैनिकसँग भने ।
तीनदेखि पाँच महिनासम्मको तलब आउन बाँकी रहेका ती कामदारले बताए । उनका अनुसार, तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम समेत हुन सकेको छैन । त्यो कम्पनीमा नेपाली सहित झण्डै १५०० कामदार रहेको अनुमान छ ।
कामदारहरूले यस्तो जानकारी दिएपछि स्थानीय प्रहरीले कम्पनीका अधिकारीहरुसँग दुई पटक कुरा गरिसकेका छन् । दुवै पटक तलब दिने समयावधि दिइएको थियो । तर पछिल्लोपटक बिहीबारसम्म तलब दिने भनिएको सहमति समेत कार्यान्वयन हुन नसकेको अर्का एक कामदारले बताए ।
“हामीले कुनै समय राम्रो कमाई ग¥यौ, आज मागेर खान पर्ने दिन आए’, उनले भने । अलपत्र परेका नेपाली कामदारहरुबारे गैरआवासिय नेपाली सङ्घ (एनआरएनए) कतार तथा श्रमिक विभाग सहयोगमा जुटेको छ । सङ्घका कार्यवाहक अध्यक्ष तथा श्रमिक विभाग संयोजक कृष्ण पन्थीले आफूले सूचना पाएदेखि नै हरेक पल श्रमिकको सम्पर्कमा रहेर सक्दो सहयोग गरिरहेको बताए । खानाका समस्या परेका ६१५ श्रमिकका लागि एनसीसीले खानाको व्यवस्था गर्दै आइरेहको बताए ।
श्रमिकका पीडा कतारको सरकारी निकायका अधिकारी समक्ष पुगेको छ । कतारको श्रम मन्त्रालयको प्रवासी श्रमिक मामिलाका लागि सहायक उपसचिव शेखा नजवा अल–थानी तथा मन्त्रालयका अन्य अधिकृतहरूको उपस्थितिमा १८ देशका कम्युनिटी लिडर सहभागी महत्वपूर्ण बैठकमा पन्थीले उपसचिव समक्ष नेपाली श्रमिकले पछिल्ला दिनमा भोगी रहेका समस्याबारे जानकारी गराएका थिए ।
पन्थीका कुरा सुनेपछि उपसचिव थानिले यथाशक्य खानाको व्यवस्था गर्ने र कम्पनीसँग परामर्श गरी तलब भुक्तानीका लागी पहल गर्ने प्रतिबद्दता जनाए बमोजिम श्रमिकलाई कतार सरकारले खाना पानीको व्यवस्था गरेको छ । सरकारको तदारुकताका लागी एनसीसी कतारले आभार व्यक्त गरेको छ । कतारमा कोही नेपाली समस्यामा परेमा एनसिसि वा आफूलाई सम्पर्क गर्न समेत पन्थीले आग्रह गरेका छन् ।
श्रमिकहरू आफ्ना समस्या बोकेर नेपाली राजदुतवासमा समेत पुगेका थिए । दूतावासका कर्मचारीहरूले आवश्यक अभिलेख राखी नियमित रूपमा श्रमिकको सम्पर्कमा रहेको दूतावासका एक अधिकारीले बताए ।
उनका अनुसार कानुनी रूपमा लडाई लड्न दूतावास श्रमिकको पक्षमा रहेको र पीडितको खाना लगायत समस्याका लागि एनसीसीसँग आवश्यक समन्वय गरी रहेको उनको भनाइ थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies