काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट अन्तर्गत भैरहवा ग्लाडियटर्सले किर्तीमानी जित निकालेको छ । पोखरा राइनोजले दिएको दुई सय १६ रन किर्तीमानी लक्ष्य पक्ष्याएको भैरहवाले २ बल बाँकी छदा ६ विकेटको क्षतिमा लक्ष्य पार गर्दै शान्दार जित निकाल्न सफल भएको हो ।
भैरहवाको जितमा रविइन्द्र सिंहले नटआउट १ सय २५ रन जोडेका थिए । उनले ६० बलमा ८ चौका र १० छक्का प्रहार गरे । त्यसअघि खराब ओपनिङ गरेको भैरहवाका हरिशंकर साह रन नै जोड्न नपाइ आउट भए । अर्का ओपनर प्रदीप ऐरीले ११ बलमा १४ रन जोडेका थिए ।
रायन टेन डोजच्याटे १६ रन र कप्तान शरद भेषवाकर ६ रनमा आउट भए । तर आरिफ शेख र पुनित मेहराले रवि इन्दरलाई राम्रो साथ दिएपछि भैरहवाको जित सम्भव भयो । आरिफले १३ बलमा ६ छ्क्का सहित २३ रन र मेहराले ९ बलमा २ छक्का सहित नटआउट १८ रन जोडे । बलिङमा पोखराका सुसन भारी, ब्रिकम शोव र पाउल कउलिनले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पनि धमाकेदार ब्याटिङ गरेको थियो । पोखराले २० ओभरमा ५ विकेट गुमाएर २ सय १५ रन जोडे । उत्कृष्ट ओपनिङ गरेको पोखरा ओपनर रिचार्ड लेभीले ७९ रन र उनका ओपनिङ पार्टनर केल केइट्जरले ४७ रन जोडे । दुईबीच पहिलो विकेटका लागि ८.२ ओभरमा १ सय ४ रनको साझेदारी भएको थियो । लेभीले ३६ बलमा समान ७-७ चौका र छक्का प्रहार गरे । कप्तान कोइट्जरले ३७ बलमा ४ चौका र २ छक्का हिर्काए ।
पोखराका लागि सुनील धमलाले २३ बलमा ३८ रनको योगदान गरे । यस्तै पाउल काउलिनले १० बलमा नटआउट रन जोडेपछि पोखराले २ सय रन कटाएको थियो । बलिङमा भैरहवाका अभिनास बोहोरा, भुवन कार्की, रायन टेन र पुनीत मेहराले समान १-१ विकेट लिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies