२०८३ मंसिर १० गते बिहिवार / Nov 26 , 2026 , Thursday
२०८३ मंसिर १० गते बिहिवार

होल्डिङ सेन्टरबाट पनि हटाइँदै सुकुम्वासी

Nada
सपना बोहरा
२०८३ मंसिर १० गते ०६:३०
Shares
होल्डिङ सेन्टरबाट पनि हटाइँदै सुकुम्वासी

काठमाडौं : काठमाडौं उपत्यकाका नदीकिनारका बस्ती हटाएपछि होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्वासीलाई त्यहाँबाट पनि सरकारले हटाउन लागेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना निकालेर आगामी शनिबार दिउँसो २ बजेसम्मको समय दिएर होल्डिङ सेन्टरबाट समेत हट्न निर्देश गरेको हो । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट भक्तपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्र (बोडे)मा व्यवस्थापन गरिएकाहरूको हकमा शनिबारसम्मको म्याद दिइएको हो । गत वैशाख ११ गते उपत्यकाको नदी किनारमा बस्दै आएका सुकुम्वासी बस्तीमा डोजर लगाएर हटाइएको थियो । 

त्यहाँबाट विस्थापित भएकाहरूलाई अन्यत्र आफ्नो जग्गा भए जान भनिएको थियो । अन्यत्र व्यवस्थापन गर्न नसकेकाहरूलाई होल्डिङमा सेन्टरमा व्यवस्थापन गरिएको थियो ।  त्यसबेला सरकारले बस्तीबाट हटाएकाहरूलाई १५ दिनभित्र जग्गा व्यवस्थापन गरेर लालपुुर्जा प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । तर, सरकारले १० महिनापछि उनीहरूलाई होल्डिङ सेन्टरबाट समेत हटाउन लागेको हो । भक्तपुरको विभिन्न होल्डिङ सेन्टरमा ५१ घरका १३७ सुकुम्वासी परिवारलाई सरकारले शनिबारसम्मको मिति दिएर होल्डिङ सेन्टर खाली निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी खड्का होल्डिङ सेन्टर खाली गराउन लागिएको बताउँछन् । ‘आफनो गृहजिल्लामा गएर खाली जग्गा खोजी गर्नका लागि होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका सुकुम्वासीलाई अनुरोध गरेका हौं,’ उनले मध्यान्हसँग भने, ‘एक महिनाको घरभाडा र बाटो खर्चको व्यवस्था गरेका छौं ।’ 

खड्काले थपे, ‘हामीले पटक–पटक सुकुम्वासीलाई आफ्नो गृहजिल्ला गएर जग्गा सहजीकरण गर्नका लागि अनुरोध गर्दै आएका थियौँ, तर उहाँहरू नमानेपछि सूचना जारी गरिएको हो ।’ 

अन्यत्र ठाउँ नभएकाले मात्र होल्डिङ सेन्टरमा बस्दै आएको सुुकुम्वासीहरूले बताएका छन् । बढ्दै गरेको चिसो मौसममा सरकारले होल्डिङ सेन्टरबाट पनि हटाउने तयारी गरेपछि उनीहरू असन्तुष्ट बनेका छन् । सरकारले भनेजस्तो सहज अवस्था नरहेको उनीहरूको गुनासो छ । 

काठमाडौं उपत्यकाका नदीकिनारका जोखिमयुक्त बस्तीमा रहेका परिवारहरू विस्थापित भई होल्डिङ सेन्टरमा बसोबास गरिरहेका छन् । सार्वजनिक सूचनामा उल्लेख भएअनुसार भूमि समस्या समाधान समिति, काठमाडौंको च.न. ४८ को प्राप्त पत्रअनुसार उनीहरूलाई हट्न भनिएको हो । 

कृषि विकास बैंकको तालिम केन्द्र, बोडेमा रहेका र घरमूली वा बसोबास गर्दै परिवारका सदस्यहरूको नाममा भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार जग्गा रहेको देखिएको उल्लेख छ । यो अवस्थामा भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार भूमिहीन नरहने भनेर सरकारले त्यस्ता परिवारलाई होल्डिङ सेन्टर खाली गर्न अनुरोध गरेको हो ।

जग्गा नभएका १२ परिवारको हकमा पनि सम्बन्धित पालिकाको जग्गा उपलब्ध गराउने प्रयोजनका लागि कारबाही अघि बढी निस्सासमेत प्राप्त भएको जनाइएको छ ।

laxmi recruitement

सम्बन्धित खबर