
काठमाडौं : संघीय संसद् सचिवालयका अनुसार संघीय संसद्का दुवै सदनमा विचाराधीन विधेयकको संख्या ३६ छ । यसमध्ये प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूमा मात्रै २४ वटा विधेयक छन् ।
राष्ट्रिय सभाअन्तर्गतको विषयगत समिति एउटा पनि विधेयक छैन । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको राष्ट्रिय सेवा दल विधेयक राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी छ । राष्ट्रिय सभामा रहेको यही एउटा विधेयक हो । बाँकी प्रतिनिधिसभामै छन् ।
संघीय संसद् दुई सदनात्मक छ । विधायिकी प्रक्रियामा प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको भूमिका संविधानले सुनिश्चित गरेको छ । अर्थ विधेयकबाहेक अन्य विधेयक एउटा सदनबाट पारित हुँदैमा कानुन बन्दैन । अर्को सदनको प्रक्रियासमेत पूरा गर्नुपर्छ । तर सरकारले विधेयक प्रस्तुत गर्दा प्रतिनिधिसभालाई प्राथमिकता दिइरहेको छ ।
प्रतिनिधिसभामा सत्तारूढ दलको बलियो बहुमत छ । यसकारण प्रतिनिधिसभाबाट सरकारलाई विधेयक पारित गराउन अंकगणितीय कठिनाइ छैन । तर राष्ट्रिय सभामा सत्तारूढ दलको उपस्थिति छैन । यसकारण पनि सरकारले राष्ट्रिय सभालाई बेवास्ता गरेको हुन सक्ने सम्बन्धित सभाका सदस्यहरू बताउँछन् ।
संविधानले विधेयक प्रस्तुत गर्ने अधिकार संघीय संसद्का कुनै पनि सदनलाई दिएको छ । संविधानको धारा ११० मा अर्थ विधेयक प्रतिनिधिसभामा मात्रै प्रस्तुत गर्न सकिने व्यवस्था छ । त्यसबाहेकका सामान्य विधेयक कुनै पनि सदनमा प्रस्तुत हुन सक्छन् । अर्थात्, सरकारलाई सामान्य विधेयक राष्ट्रिय सभाबाट सुरु गर्ने संवैधानिक बाटो पनि खुला छ । तर सरकारले राष्ट्रिय सभामा नगएर प्रतिनिधिसभामै विधेयकहरू दर्ता गरिरहेको छ । यसकारण राष्ट्रिय सभा कामविहीन भएको हो ।
संविधानको धारा १११ मा संघीय संसद्का दुई सदनबीच विधेयक पारित गर्ने प्रक्रिया छ । एउटा सदनले पारित गरेको विधेयक अर्को सदनमा जान्छ । अर्को सदनले पनि पारित गरेपछि पुनः दर्ता भएको सभामा फर्किन्छ । अनि अर्को सदनले गरेका संशोधन दर्ता भएको सदनले स्वीकार गरे प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुन्छ । अन्यथा संयुक्त सदन बस्नुपर्ने हुन्छ । यसकारण पनि सरकारले सत्तारूढ दलको स्पष्ट बहुमत रहेको प्रतिनिधिसभामा विधेयक बढी लगेको हो ।
सामान्य विधेयकमा राष्ट्रिय सभाले विधेयक प्राप्त गरेको दुई महिनाभित्र पारित वा अस्वीकार गर्ने प्रक्रिया पूरा नगरे प्रतिनिधिसभाले बहुमत सदस्यको निर्णयबाट विधेयक अघि बढाउन सक्ने संवैधानिक व्यवस्था छ । यसकारण प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा विधेयक पुगे पारितका लागि समयसीमा लाग्छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको अवस्थामा भने कुनै समयसीमा लाग्दैन ।