
क्वालालम्पुर, मलेसिया : मलेसियामा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नियम उल्लंघन गर्ने २०४ रोजगारदाता फेला परेका छन् । तीमध्ये ४६ रोजगारदाताविरुद्ध मुद्दा चलाइएको छ भने कुल ५६ हजार ९०० रिंगेट जरिवाना गरिएको छ ।
मानव संसाधन उपमन्त्री दातुक खैरुल फिरदाउस अकबर खानका अनुसार श्रम विभागले गत अगस्ट ३१ सम्म देशभरका विभिन्न क्षेत्रमा रहेका रोजगारदाताका प्रतिष्ठानमा २८ हजार २५९ पटक निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा न्यूनतम तलबसम्बन्धी नियम उल्लंघन भएको पाइएपछि १२८ वटा अनुसन्धान फाइल खोलिएको थियो । तीमध्ये ४६ वटा मुद्दा अदालतसम्म पुगेका हुन् ।
मुद्दा चलाइएकामध्ये एक उत्पादन कम्पनीलाई ८ हजार रिंगेट र एक सेवा क्षेत्रको कम्पनीलाई २४ हजार रिंगेट जरिवाना गरिएको उपमन्त्रीले जानकारी दिए । ती कम्पनीले कामदारलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिएको पाइएको थियो ।
नियम उल्लंघन गरेको भेटिएका २०४ रोजगारदातालाई श्रम विभागले नियम पालना गर्न तथा आवश्यक सुधार गर्न निर्देशनसहितको सूचना पनि जारी गरेको छ ।
उपमन्त्री खैरुल फिरदाउसले साना तथा लघु व्यवसायसहित विभिन्न क्षेत्रका रोजगारदाताको निरीक्षण गरिएको बताए । सबै रोजगारदाताले न्यूनतम पारिश्रमिकसम्बन्धी आदेश २०२४ पालना गरेको सुनिश्चित गर्न निरीक्षणलाई निरन्तरता दिइएको उनको भनाइ छ ।
मलेसियामा सन् २०२५ फेब्रुअरी १ देखि लागू भएको उक्त आदेशअनुसार निजी क्षेत्रका सबै रोजगारदाताले उद्योग, व्यवसायको प्रकृति वा आकार जस्तोसुकै भए पनि कामदारलाई मासिक न्यूनतम १ हजार ७०० रिंगेट पारिश्रमिक दिनुपर्ने व्यवस्था छ ।
यसैबीच, न्यूनतम पारिश्रमिक नदिएको सम्बन्धमा श्रम विभागमा २६४ वटा उजुरी प्राप्त भएको पनि उपमन्त्रीले जानकारी दिए । तीमध्ये २३३ वटा उजुरीको समाधान भइसकेको र १८५ वटा उजुरीमा आधार तथा सत्यता रहेको पाइएको छ ।
त्यस्तै, श्रमसम्बन्धी ५८५ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ४७७ वटा समाधान भइसकेका छन् भने कामदारलाई भुक्तानी दिलाउन कुल ८ लाख ९४ हजार ६४६ रिंगेट ७३ सेन बराबरको आदेश जारी गरिएको छ ।
ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेका साना तथा लघु व्यवसायले बढ्दो सञ्चालन खर्चका कारण न्यूनतम पारिश्रमिक नियम पालना गर्न कस्ता चुनौती सामना गरिरहेका छन् र सरकारले कसरी अनुगमन गरिरहेको छ भन्ने विषयमा सांसद दातुक अब्दुल खालिब अब्दुल्लाह (पीएन–रोम्पिन) ले संसद्मा सोधेको प्रश्नको जवाफ दिँदै उपमन्त्रीले उक्त विवरण सार्वजनिक गरेका हुन् ।