२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

Nada
२०८३ मंसिर ७ गते १३:१०
Shares
पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

इलाम : इलामको सूर्योदय नगरपालिका–७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान घोडा स्याहारसुसारबाट सुरु हुन्छ । 

बिहान उठ्ने बित्तिकै घोडालाई दानापानी खुवाउने, सरसफाइ गर्ने र पर्यटक सेवाका लागि तयार पार्छन् । त्यसपछि उनी घोडा लिएर पर्यटकीय क्षेत्र कन्याम बजार निस्कन्छन् । दिनभर पर्यटकलाई घोडा चढाएर कन्याम र आसपासका क्षेत्र घुमाउछन् । दिनभरि कमाएको पैसा लिएर उनी साँझ घर फर्कन्छन् । यसरी नै बित्ने गरेको छ उनको दैनिकी । 

परम्परागत कृषि गर्दै आएका तामाङका लागि घोडचढी व्यवसाय पछिल्ला दिनमा आम्दानीको मुख्य स्रोत बनेको छ । उनले सरदरमा दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आएका छन् । “बिहानदेखि साँझसम्म घोडालाई स्याहारसुसारदेखि पर्यटकलाई घोडामा चढाएर घुमाउनु आजकलको दैनिकी बनेको छ,” उनले भने, “दिनभर पर्यटकलाई घोडा चढाएर सरदर दैनिक रु तीन हजारसम्म कमाइ हुन्छ । दैनिक घोडालाई दानापानी खुवाउन रु एक हजार खर्च हुन्छ । बाँकी बचत हुन्छ ।” 

प्याकेजमा पर्यटक घुमाउने मौका पाएको बेला भने रु पाँच हजारमसम्म कमाइ हुने उनको भनाइ छ । परम्परागत खेतीपातीसँगै पर्यटन व्यवसायमा जोडिन पाउँदा आफूलाई थप सन्तुष्टि र आनन्द मिलेको उनी बताउछन् । सोमबहादुरको मात्र होइन, यतिबेला कन्यामका ३९ किसानको दिनचर्या यस्तै रहेको छ । घोडा पालन गर्दै आएका किसानको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउन ठिक्क छ । बिहानदेखि बेलुकासम्म उनीहरू पर्यटकलाई घोडचढी सेवा दिन व्यस्त हुन्छन् । 

पछिल्लो समय कन्याममा घोडचढी व्यवसाय फस्टाउँदो छ । यहाँ घुम्न आउने पर्यटक घोडचढी नगरी फर्कँदैनन् । पर्यटकको चाप बढेपछि घोडा व्यवसायी झनै दङ्ग छन् । यहाँ चियाबारी ट्रेलमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकहरूको सङ्ख्या बढेपछि घोडा व्यवसायीको आम्दानी बढेको छ । घोडचढी व्यवसायलाई व्यवस्थित बनाउनका लागि मूल्य निर्धारण गर्न र व्यवसायीलाई संगठित गर्न घोडचढी व्यवसायी संघ गठन गरिएको छ । 

संघले दूरीअनुसार विभिन्न प्याकेजमा विभिन्न शुल्क निर्धारण गरिएको घोडचढी व्यवसायी संघका कोषाध्यक्ष डिकबहादुर तामाङले बताए। उनका अनुसार घोडा चढेर फोटो खिचेको मात्र रु ५० र १० मिनेट घुमेको रु १००, स्पोर्ट राउन्ड घुमेको रु ३००, हरियाली चिया बगान घुमेको ६०० र कन्यामका सबै क्षेत्र घुमेको (प्याकेजअनुसार) रु दुई ५०० देखि रु पाँच हजारसम्म लिने गरिएको छ । 

“संघको निर्णयानुसार हामीले विभिन्न प्याकेजमा विभिन्न शुल्क निर्धारण गरेका छौँ । रु ५० देखि रु पाँच हजारसम्मको प्याकेज छ,” उनले भने, “हामीले आम्दानी गरेबापत नगरपालिकामा वार्षिक रु एक हजार ४७० र सरसफाइ शुल्कबापत मासिक रु ८० तिर्दै आएका छौँ ।” 

घोडचढी व्यवसायी संघका अध्यक्ष पनि रहेका सूर्योदय नगरपालिका–७ का व्यवसायी प्रेमलाल ग्याबाले घोडचढी व्यवसाय आम्दानीको मुख्य स्रोत बनेको बताए। कन्याम आउने पर्यटकलाई घोडामा सवार गराएर जीविकोपार्जन गर्न सहज भएको उनको भनाइ छ । “पर्यटकलाई घोडा चढाएर चाहेको स्थानमा घुमाउने गर्छौं । यो काम अन्य खेतीपातीको तुलनामा धेरै सहज छ,” उनले भने, “घोडचढी व्यवसायबाट आम्दानी मात्र हुँदैन, नयाँ नयाँ पर्यटकलाई घुमाउन र उनीहरूसँग भेटघाट गर्न पाउँदा मन आनन्दित हुन्छ ।” कन्याममा बालबालिका र युवादेखि वृद्धवृद्धाले घोडामा सवार गर्ने गरेका छन् । 

सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम कोसी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र हो । यतिबेला कन्याम घुम्न आउने मुख्य ‘सिजन’ सुरु भएको छ । सामान्यतया असोजदेखि जेठसम्म कन्याममा पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय पर्यटन व्यवसायी टिका ओडारीले बताए। 

चारैतिर हरियाली चियाबारीको बुट्यानले सजिएको कन्याममा वनभोज, फोटो, भिडियो खिच्नाका साथ साथै घोडचढीका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् ।  

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर