
काठमाडौं : एकाबिहानै बुढीगण्डकी नदीमा लेदोसहितको ठुलो बहाव उर्लियो । नदी किनारका बासिन्दाले घरभित्रका सामान र पशुचौपाय जोगाउने मौकासमेत पाएनन् । कोही भर्खर उठ्दै थिए, कोही बिहानको काममा निस्कने तयारीमा । पहिरोले नदीको बहाव छेकेपछि एकाएक आएको बाढीले बस्ती, पुल र पूर्वाधार बगायो । केही मानिस ज्यान जोगाउन अग्लो ठाउँतिर भागे भने पाँच गोठाला अझै सम्पर्कविहीन छन् ।
गोरखाको उत्तरी भेगमा आइतबार बिहान बुढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार कम्तीमा ३५ घर बगेका छन् । पुल, सडक, जलविद्युत् आयोजनाका निर्माणस्थल र पशुगोठमा समेत क्षति पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट ४७ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ ।
पहिरोले थुनिएको नदीमा एकाएक बाढी
प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीचको क्षेत्रमा पहिरो गएर नदीको बहाव अवरुद्ध भएपछि बाढी आएको हो । माथिल्लो क्षेत्रमा थुनिएको पानी र लेदोसहितको बहाव एकाएक तलतिर झर्दा नदी किनारका बस्ती प्रभावित भएका छन् । घटनाको विस्तृत भौगर्भिक कारण भने प्राविधिक अध्ययनबाट यकिन हुने सरकारी दाबी छ ।
बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत प्याँयु र बगर क्षेत्रका घरमा ठुलो क्षति पुर्याएको प्रारम्भिक विवरण छ । जगत, सल्लेरी र घट्टेखोलालगायतका बस्ती पनि प्रभावित भएका छन् । धार्चे गाउँपालिकाको माछाखोला क्षेत्रमा बाढी पसेपछि घर र गोठमा क्षति पुगेको छ । सल्लेरी क्षेत्रमा थप घर जोखिममा परेको विवरण सार्वजनिक भएको छ ।
बाढीले घर मात्र बगाएको छैन, स्थानीयको जीविकोपार्जनका आधारसमेत नष्ट गरेको छ । ग्रामीण क्षेत्रमा घर, गोठ, पशुचौपाया र खेतीपाती एउटै परिवारको आर्थिक सुरक्षासँग जोडिएका हुन्छन् । पशु बग्दा किसानले तत्कालीन आम्दानीसँगै बर्सौं लगाएर बनाएको सम्पत्ति गुमाउँछन् । घर बग्दा बसोबासको समस्या थपिन्छ भने सडक र पुलमा क्षति हुँदा राहत तथा पुनस्र्थापनाको काम कठिन हुन्छ ।
पाँच गोठाला बगाएको आशंका
बाढीपछि पाँच गोठाला सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला छन् । प्रारम्भिक विवरणअनुसार, उनीहरू चुमनुब्री गाउँपालिका–६ अन्तर्गत उंग्लिलुङ क्षेत्रमा पशुचौपाय हेरचाहका लागि गोठमा बसेका थिए । बाढीले गोठ र पशुचौपाय बगाएपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
उनीहरूलाई बाढीले बगाएको हो वा अन्यत्र सुरक्षित स्थानमा पुगेका छन् भन्ने खुलेको छैन । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय तहको समन्वयमा खोजी तथा उद्धार भइरहेको छ । प्रभावित क्षेत्रको भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र पुल तथा नदीको बहावका कारण स्थलमार्गबाट उद्धार गर्न कठिन हुन सक्छ ।
पुल बगेपछि टुट्यो बस्तीको सम्पर्क
बुढीगण्डकीको बाढीले विभिन्न स्थानका झोलुंगे तथा मोटर चल्ने पुलमा क्षति पुर्याएको छ । गोरखा र धादिङ जोड्ने आरुघाट क्षेत्रको पुलको भागसमेत बगाएको विवरण सार्वजनिक भएको छ । चुमनुब्रीको न्याक्चेत–सिर्दिबास र धार्चेको माछाखोला–केरौजालगायतका क्षेत्रका पुलमा पनि क्षति पुगेको छ ।
पहाडी क्षेत्रमा पुल नदी वारपार गर्ने साधन मात्र होइन, अस्पताल, बजार, विद्यालय र सरकारी सेवासम्म पुग्ने मुख्य माध्यम हो । पुल बग्दा आसपासका बस्तीको सम्पर्क टुट्न सक्छ । सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान, खाद्यान्न पुर्याउन र उद्धार टोली परिचालन गर्नसमेत कठिन हुन्छ ।
२० मिनेटपछि तल्लो तटीय क्षेत्रमा सूचना
बुढीगण्डकीको बाढीले पूर्वसूचनाको महत्त्व पनि देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत धर्मराज उप्रेतीले सार्वजनिक गरेको विवरणअनुसार अधिकारीले बिहान करिब ६ः२० बजे घटनाबारे आधिकारिक जानकारी पाएका थिए । त्यसको करिब २० मिनेटपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई लघुसन्देशमार्फत सतर्कता सूचना पठाइएको थियो । समयमै सूचना पाएपछि नागरिक अग्लो स्थानतर्फ जान सकेको र यसले मानवीय क्षति हुन नदिन सहयोग गरेको प्राधिकरणको भनाइ छ ।
बुढीगण्डकीको बाढीले पहिरो र बाढीलाई अलग–अलग विपद्का रूपमा मात्र हेर्न नमिल्ने देखाएको छ । जुनसुकै मौसममा सुक्खा पहिरो जानसक्छ । पहिरोले नदीको बहाव रोक्न सक्छ । त्यसपछि जम्मा भएको पानी एकाएक बग्दा तल्लो तटीय बस्तीमा बाढी आउन सक्छ । त्यसैले जोखिमको पूर्वानुमान, समयमै सूचना प्रवाह र उद्धारको तयारीलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने देखिन्छ ।