
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आठौं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश दिने सर्वसम्मतिले पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष महेशप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उक्त सभामा बैंक सञ्चालक समितिका सदस्यहरू बन्धुप्रसाद बास्तोला, सुरेन्द्रराज रेग्मी, दीपककुमार अग्रवाल, विशाल उप्रेती, डा.मनीष थापा र अनिता रायमाझी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलगायत सेयरधनीहरू तथा सम्बन्धित पदाधिकारीको उपस्थिति रहेको थियो ।
उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष दहालले बैंकले समीक्षा अवधिसम्म हासिल गरेका उपलब्धि, चालु आर्थिक वर्षको लागि तय गरिएका योजना तथा लक्ष्य एवं भावी रणनीतिबारे सेयरधनीलाई जानकारी गराए ।
साधारणसभामा सेयरधनी महानुभावले बैंकको व्यवसायिक गतिविधिमा केन्द्रित भई लगानीकर्ताको प्रतिफललाई बढोत्तरी गर्नेलगायत आगामी दिनमा बैंकभित्र संस्थागत सुशासन, पारदर्शिता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्दै बैंकलाई सबल वित्तीय संस्थाको रूपमा स्थापित गर्दै लैजानुपर्नेमा विशेष जोड दिइएको थियो ।