
टोकियो : भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्वार तथा राहतका लागि जापानलाई कर्मथलो बनाइरहेका सामाजिक अगुवा शरदकुमार गौचनको पहलमा आर्थिक सहयोग गरिएको छ ।
गौचनको पहलमा संकलित ६ लाख ३० हजार ५ सय रुपैयाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा मंगलबार जेएमईमार्फत जम्मा गरिएको हो ।
उक्त रकम गौचनको पहलमा अल्ट्रा धावन तथा पर्वतारोही ग्रुपबाट संकलन गरिएको हो । उक्त ग्रुपमा गौचन पनि सम्मिलित छन् । यो सहयोग अभियानमा ९२ जना जापानीहरूले सहयोग गरेको गौचनले मध्यान्हलाई जानकारी दिए ।
केही समयअघि पनि उक्त समूहले १ लाख जापानी येन प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिसकेको छ ।
थकाली सेवा समिति जापनाका संरक्षकका साथै पूर्वअध्यक्ष समेत रहेका गौचनकै सक्रियतामा केही समयअघि थकाली सेवा समिति जापानले पनि १२ लाख २३ हजार ३२ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको थियो ।
जापान नेपाल सोसाइटीको सदस्य समेत रहेका गौचन जापानको नेपाली समाजका एक पुराना अगुवा पनि हुन् । उनी निरन्तर विभिन्न समाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।