
कोटा बारु l मध्यपूर्वमा जारी द्वन्द्वका कारण रोजगारी गुमाउन सक्ने कामदारलाई लक्षित गर्दै मलेसिया सरकारले वैकल्पिक रोजगारीका अवसर उपलब्ध रहेको जनाएको छ । सामाजिक सुरक्षा संस्थाअन्तर्गत सञ्चालित माई फ्युचर जब्स पोर्टलमा ४ लाखभन्दा बढी रोजगारीका अवसर उपलब्ध रहेको मानव संसाधनमन्त्री दातुक सेरी आर. रामाननले बताएका छन् ।
मंगलबार केलान्तानका सुल्तान मुहम्मद पाँचौंको ५७औं जन्मोत्सवका अवसरमा आयोजित राज्य सम्मान तथा पदवी प्रदान समारोहपछि पत्रकारसँग कुरा गर्दै मन्त्री रामाननले हालसम्म मलेसियाको रोजगार क्षेत्रमा मध्यपूर्व द्वन्द्वको असामान्य प्रभाव नदेखिएको बताए । तर द्वन्द्व लम्बिएमा केही क्षेत्रमा रोजगारी कटौती तथा सेवा सम्झौता नवीकरण नहुने अवस्था आउन सक्ने भन्दै सरकार त्यसका लागि तयार रहेको उनको भनाइ छ ।
रोजगारी गुमाउने कामदारलाई सामाजिक सुरक्षा संस्थामार्फत आवश्यक सहयोग उपलब्ध गराइने उनले बताए । साथै, काम गुमेका वा नयाँ अवसर खोजिरहेका कामदारलाई माई फ्युचर जब्समार्फत आफ्नो योग्यता र अनुभवअनुसार नयाँ रोजगारी खोज्न आग्रह गरिएको छ ।
मन्त्री रामाननका अनुसार योग्यताका आधारमा सामाजिक सुरक्षा संस्थाले कामदारलाई आवश्यक सहयोगमा १०० प्रतिशत, ५० प्रतिशत वा २५ प्रतिशतसम्म लागत व्यहोर्न सक्ने व्यवस्था छ ।
उनले रोजगारीको क्षेत्रमा केही असर देखिए पनि सरकारले त्यसको सामना गर्न आवश्यक तयारी गरिरहेको बताए । उपलब्ध नयाँ रोजगारीमा मलेसियाली नागरिकलाई प्राथमिकता दिइने उनको भनाइ छ ।