
दोहा, कतार : प्रवासी भुजेल समाज कतारले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् । नेपाली रक्तदाता संघ कतारको समन्वयमा शुक्रबार कतार नेसनल ब्लड डोनेट सेन्टरमा कार्यक्रम सम्पन्न भएको हो ।
‘रक्तदान जीवनदान’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार तथा सर्वसाधारण गरी करिब १३० जनाको सहभागिता रहेको थियो । हमाद हस्पिटल अन्तर्गतको कतार नेसनल ब्लड डोनेट सेन्टरमा भएको कार्यक्रममा रक्तदान गर्ने सबैलाई आयोजक संस्थाका तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाबाट उल्लेख्य सहभागिता जनाउने पदाधिकारी तथा रक्तदाताप्रति प्रवासी भुजेल समाज कतारका अध्यक्ष सन्तोष भुजेलले धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको कार्यक्रममा रक्तदानसँगै मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले समुदायमा रक्तदानको महत्वबारे समेत सचेतना प्रदान गरिएको थियो ।