२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा सांसदहरूबाट १७ संशोधन प्रस्ताव

Nada
२०८३ साउन ३ गते १५:४१
Shares
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा सांसदहरूबाट १७ संशोधन प्रस्ताव

काठमाडौँ : प्रतिनिधिसभामा विचाराधीन अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सांसदहरूले १७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । विधेयकको प्रस्तावनादेखि विभिन्न दफासम्म परिमार्जनको मागसहित संशोधन प्रस्ताव पेस भएका हुन् ।

ncell

विधेयकमाथि संशोधन प्रस्ताव राख्ने सांसदहरूमा परशुराम तामाङ, गणेशबहादुर विश्वकर्मा, प्रमिला कुमारी गच्छदार, गणेश पराजुली, नरेन्द्रकुमार केरुङ, सुम्नीमा उदास, सुशील खड्का, अनुश्का श्रेष्ठ र प्रकाशचन्द्र परियार रहेका छन् ।

त्यस्तै भूमिका लिम्बू सुब्बा, कुलभक्त शाक्य, ऐनबहादुर महर, गणेश कार्की, गुरुप्रसाद बराल, कमल सुवेदी, समीक्षा बास्कोटा र सुलभ खरेलले पनि विधेयकका विभिन्न विषयमा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

नेकपाका सांसद परशुराम तामाङले विधेयकको प्रस्तावनामा प्रयोग भएको परम्परागत अभ्यास र पुस्तान्तरणसम्बन्धी भाषालाई परिवर्तन गरी आदिवासी तथा परम्परागत ज्ञान, सीप र अभ्यासलाई प्राथमिकतासहित समेट्नुपर्ने प्रस्ताव गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले भने प्रस्तावनाको सम्पूर्ण संरचना नै पुनर्लेखन गर्नुपर्ने धारणा राखेका छन् । उनले नेपालमा रहेका व्यक्ति, समूह वा समुदायले परम्परागत रूपमा विकास र हस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण तथा प्रवर्द्धनसँगै समुदायको अग्राधिकार, सांस्कृतिक विविधताको सम्मान र राष्ट्रिय एकताको विषय समेट्नुपर्ने प्रस्ताव गरेका छन् ।

रास्वपाका सांसद कमल सुवेदीले थारु, आदिवासी जनजाति लगायत विभिन्न समुदायले सिर्जना र संरक्षण गर्दै आएका सांस्कृतिक सम्पदालाई युनेस्कोको मान्यताअनुसार पहिचान, संरक्षण, पुनर्जीवन र दीर्घकालीन प्रवर्द्धन गर्ने विषय प्रस्तावनामा उल्लेख गर्नुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै रास्वपाकै सांसद सुलभ खरेलले नेपालभित्र तथा विदेशमा रहेका नेपाली समुदायले अभ्यास र पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई विधेयकको उद्देश्यमा स्पष्ट पार्नुपर्ने प्रस्ताव गरेका छन् ।

नेकपाका सांसद गणेशबहादुर विश्वकर्माले विधेयकमा प्रयोग गरिएको ‘अभौतिक’ शब्दको स्थानमा ‘मौलिक’ शब्द राख्नुपर्ने संशोधन प्रस्ताव गरेका छन् ।

हाल उक्त विधेयक प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा दफावार छलफलको क्रममा रहेको छ ।  गत २२ असारमा बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव गरेका थिए, जसलाई बैठकले स्वीकृत गरेको थियो ।

अब समितिले सांसदहरूले दर्ता गरेका संशोधन प्रस्ताव र मूल विधेयकलाई सँगसँगै राखेर छलफल गर्नेछ । समितिबाट पारित भएपछि विधेयक प्रतिनिधिसभामा पेस हुनेछ ।

प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रक्रिया पूरा गर्दै अध्यक्षमार्फत राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै विधेयक कानुनका रूपमा कार्यान्वयनमा आउने संवैधानिक व्यवस्था रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर