
काठमाडौं : नेपालमा गाँजा पूर्ण रूपमा प्रतिबन्धित छ । तर यही प्रतिबन्धित देश नेपालमा थाइल्यान्डमा उत्पादित गाँजा भित्रिने र भारततर्फ तस्करी हुने गरेको पाइएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार दुई वर्षमा थाइल्यान्डबाट नेपाल भित्रिएको ३८९.७१ किलो गाँजा बरामद भएको छ । यी घटनामा ११७ अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८३ जना भारतीय नागरिक छन् । यो कुल पक्राउको ७०.९४ प्रतिशत हो ।
पक्राउ पर्नेमा १२ नेपाली, थाई र श्रीलंकन तीन÷तीन तथा मलेसियका एक रहेको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मी पछिल्ला वर्ष थाइल्यान्डमा उत्पादन भएको गाँजा नेपाल भित्रिने गरेको बताउँछन् । नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ लैजाने उद्देश्यले तस्करी भइरहेको उनको भनाइ छ ।
‘नेपालमा पनि लुकीछिपी उत्पादन भएका गाँजा, चरेसहरु भारततर्फ लैजाने गरेका छन्, त्यसबाहेक थाइल्यान्डमा उत्पादन भएका गाँजा नेपाल हुँदै भारततर्फ लैजाने गरेको पाइएको छ’ उनले भने ।
उनका अनुसार थाइल्यान्डमा उत्पादित गाँजा नेपाल खपत हुने उद्देश्यले तस्करी गरिएको देखिँदैन । थाई गाँजामा टिएचसी (टेट्राहाइड्रोक्यानाबिनो) र सिडिबी (क्यानाबिडोन) नामको केमिकल अत्यधिक हुन्छ । हाइब्रिड गरिएको गाँजामा यस्ता केमिकल धेरै हुने उनकोे भनाइ छ । त्यसैले भारतमा यस्तो गाँजाको माग धेरै छ । सोही मागलाई पूर्ति गर्न तस्करले उक्त गाँजा नेपाल हुँदै भारत लैजाने गरेका हुन् ।
‘नेपालमा पाइने गाँजा भनेको खेतमा फल्ने हो, जंगलमा आफैं उम्रिने हो,’ उनले भने, ‘थाइल्याण्डबाट आउने गाँजा हाईब्रिड हो जो नेपालमा उत्पादन हुने भन्दा तीन–चार गुणासम्म कडा हुन्छ ।’
थाईल्यान्डमा गाँजा उत्पादनले वैधता प्राप्त गरिसकेपश्चात् नेपालमा यसको असर देखिन थालेको हो । सन् २०२२ को जुन महिनामा थाई सरकारले गाँजा उत्पादन तथा बिक्रीमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । तर यूकेलगायत देशमा थाई गाँजाको अवैध कारोबार बढेसँगै यसै वर्षको जुन महिनादेखि चिकित्सकको प्रेस्क्रिप्शनमा मात्र बेच्न पाइनेसहितका नियम लागु गरेको छ ।
थाईल्यान्डबाट नेपालमा गाँजा ल्याउने प्रवृत्ति पहिला देखिएको थिएन । तर, अहिले थाईल्यान्डबाट नेपालमा ल्याइएका गाँजा भारततर्फ जाने क्रम बढदो छ ।
पछिल्लो समय भारतको मणिपुरलगायत क्षेत्रमा अवस्था अनुकूल नहुँदा नेपालतिर अवैध रूपमा उत्पादन बढेको र गतिविधि बढेको हुन सक्ने भूतपूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्लको अनुमान छ ।
कुनैबेला नेपालमा पश्चिमेली (हिप्पीहरू) आध्यात्मिक शान्ति र खुला जीवनशैली खोज्दै नेपाल भित्रिएका थिए । सहज पाइने गाँजाका कारण नेपाल उनीहरूको रोजाइको गन्तव्य बनेको थियो । हिप्पीहरूकै कारण नेपाल पश्चिमेली पर्यटकको नजरमा पर्यो । यसले नेपालमा आधुनिक पर्यटनको जग बसाल्यो ।
सन् १९६० –१९७० को दशकमा हिप्पीहरू नेपाल भित्रिएका थिए । उनीहरुले स्थानीय गाँजा–चरेसको व्यापारमा गहिरो प्रभाव पारेका थिए । हिप्पीहरूका कारण नेपालमा गाँजा व्यापार अत्यधिक मौलायो । पछि अन्तर्राष्ट्रिय दबाब र सरकारको नीतिले गर्दा सन् १९७० को दशकको अन्त्यतिर गाँजामा प्रतिबन्ध लगाइयो र हिप्पीहरूलाई देश निकाला गरियो ।
नेपालको गाँजालाई खुला गरिदिने हो भने पर्यटक आगमनमा पनि व्यापक बृद्धि हुने निश्चित छ । त्यो कुरा नेपालमा पश्चिमेली हिप्पी कल्चरले प्रमाणित गरिसकेको छ ।
त्यसैले पश्चिमेली देशहरूका दबाबमा वि सं २०३३ अर्थात् सन् १९७६ मा नेपालले लागू औषध नियन्त्रण ऐन पास गरेर गाँजाको सबै प्रकारको प्रयोग, निर्यात तथा खेतीमा समेत प्रतिवन्ध लगाइयो । गाँजाको उत्पादन र व्यापारको खुला परिवेश अन्त्य गरियो । गाँजाका कारण कृषि र पर्यटनबाट जनस्तरमा हुने आम्दानी समाप्त भयो ।
संसद् भवनभित्र गाँजालाई वैधानिकता दिने बहस चलेको हो । प्रहरीले भने नियन्त्रणका लागि विशेष अभियान चलाउँदै आएको छ । प्रहरीले भने गाँजा खोजी र नष्ट अभियान चलाउने गरेको छ ।
हिमाल, पहाड, तराई क्षेत्रमा आफैं उम्रिएर जंगल बनेको गाँजालाई फडानी गर्दै आएको छ ।
स्वदेशमै सहज उपलब्ध हुने गाँजा पछिल्लो समय दक्षिण पूर्वी एसियाली मुलुक थाइल्याण्डबाट हवाई मार्ग हुँदै नेपालमा गाँजा भित्रिने क्रम भने बढेको हो ।