
रौतहट : जिल्लाका छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अवैध सालको काठ र लाखौं मूल्य बराबरको भन्सार छलीका कपडाहरू बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका सुरक्षा पोस्टहरूले सक्रियता बढाएसँगै ती अवैध सामानहरू नियन्त्रणमा लिन सफलता मिलेको हो ।
जिल्लाको गुजरा नगरपालिका वडा नम्बर २ चोचास्थित झाडीमा लुकाई-छिपाई राखिएको अवस्थामा २ थान सालको गोलाई (गोलिया) काठ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी रंगपुर रौतहटबाट प्रहरी सहायक निरीक्षक महमद राहत हुसेन गदीको कमाण्डमा खटिएको विशेष गस्ती टोलीले उक्त काठ नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको काठ करिब १५ क्यु. फिट रहेको र त्यसको अनुमानित बजार मूल्य ३० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी रंगपुरबाट करिब ४ किलोमिटर उत्तर-पश्चिम दूरीमा रहेको उक्त स्थानबाट बरामद गरिएको काठलाई आवश्यक कानुनी प्रक्रियाका लागि सब-डिभिजन वन कार्यालय चोचासँग समन्वय गरी जिम्मा लगाइएको छ । वन तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको अवस्थामा लाखौं मूल्यको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । गौर नगरपालिका वडा नम्बर ८ स्थित हनुमान चोकमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र पासवानको कमाण्डमा खटिएको गस्ती टोलीले उक्त अवैध सामान नियन्त्रणमा लिएको हो ।

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट करिब ३ किलोमिटर पूर्व पर्ने उक्त क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको करिब दुई लाख रुपैयाँ अनुमानित मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू बरामद गरिएको छ । प्रहरी टोलीलाई देख्नासाथ सामान बोक्ने मानिसहरू सामान छाडेर फरार भएका थिए ।
बरामद गरिएका कपडाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको छ भने फरार रहेका सामान धनी तथा तस्करहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा प्रहरीले निगरानी बढाएपछि तस्करीका सामानहरू बरामद हुने क्रम बढेको छ ।