
रौतहट : रौतहटको गढीमाई नगरपालिकामा सवारी साधनको ठक्करबाट एक स्थानीयको मृत्यु भएको छ । उक्त घटनालाई लिएर आक्रोशित परिवारजन र स्थानीय बासिन्दाले गरुडाको मेथुर चोकमा शव राखेर सडक अवरुद्ध गरेका छन् ।
दोषी चालकलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय बासिन्दा सोमबार बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् । प्रहरी र स्थानीय स्रोतका अनुसार आइतबार राति गढीमाई नगरपालिका वडा नं.४ सुन्दरपुरस्थित गरुडा–समनपुर सडकखण्डमा नम्बर नखुलेको तीव्र गतिको टिप्परले साइकलमा सवार गढीमाई नगरपालिका वडा नं. ९ मलाहीटोल निवासी रघुनाथ सहनीका अन्दाजी ३५ वर्षीय छोरा प्रमोद सहनीलाई ठक्कर दिएको थियो । ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका सहनीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनालगत्तै चालक टिप्परसहित फरार भएको स्थानीयको आरोप छ । सोमबार बिहान करिब ६ बजे स्थानीयवासीले सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको विरोधमा आक्रोशित मलाहीटोलका बासिन्दा र पीडित परिवारले जिल्लाको प्रमुख व्यापारिक केन्द्र गरुडास्थित मेथुर चोकमा मृतकको शव सडकमा राखी टायर बालेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनका कारण गौर– चपुर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । चक्काजामका कारण छोटो तथा लामो दूरीका सयौँ सवारी साधनहरूबीच बाटोमै थुनिएका छन् भने सर्वसाधारण र यात्रुहरू अलपत्र परेका छन् ।
आन्दोलनकारीहरूले दोषी चालकलाई तत्काल पक्राउ गर, पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति देऊ जस्ता नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन नभएसम्म र प्रशासनले लिखित प्रतिबद्धता नजनाएसम्म शव उठाउन नदिने अडान लिएका छन् । यता घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर प्रसाद आचार्यका अनुसार प्रहरी टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउने तथा प्रमाण संकलन गरेका छ । प्रहरी र स्थानीय प्रशासनले स्थिति सामान्य बनाउन पीडित पक्षसँग निरन्तर छलफल र वार्ता गरिरहेको भए पनि अवस्था अझै तनावपूर्ण रहेको छ । प्रहरीले फरार टिप्पर र चालकको खोजी कार्य तीव्र पारिएको र मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको जनाए ।