
प्युठान : आफ्नै खेतबारीमा जोतिरहेको गोरुमाथि अत्यन्तै निर्दयी र क्रूर व्यवहार गरेको आरोपमा प्युठानका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौमुखी गाउँपालिका वडा नं. १ बस्ने करिब ३६ वर्षीय जालिराम थापा मगर रहेका छन् ।
विगत ४/५ दिनदेखि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा एउटा भिडियो भाइरल भएको थियो, जसमा जालिरामले गोरुमाथि कुटपिट गरिरहेको दृश्य देखिएको थियो । प्रहरीका अनुसार जालिरामले आफ्नो खेतबारीमा गोरु जोतिरहेको अवस्थामा गोरु हिँड्न नसकी खेतमा बसेपछि सो गोरुको नाक र मुख माटोमा गाडिदिएर निर्दयीपूर्वक कुटपिट गरेका थिए ।
उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । सोही भिडियोको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठानले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले जालिरामविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिम पशुपन्छी प्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरेको छ ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय प्युठानबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिएका छन् ।