
काठमाडौं : सिन्धुपाल्चोकका सामुदायिक तथा निजी वनहरूमा धमाधम अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै छ । कारण, सुक्खायाम सुरु भएसँगै आगलागी हुन सक्ने त्रास । डिभिजन वन कार्यालयका अनुसार सम्भावित वन डढेलो रोक्न अग्निनियन्त्रण रेखा निर्माण गर्ने गरिन्छ । यसअन्तर्गत अग्निरेखा निर्माण, ज्वलनशील घाँसदाउरा, पातपतिंगर तथा अन्य सुक्खापदार्थ हटाउने काम गरिन्छ ।
देशका कतिपय क्षेत्रमा वन डढेलोले क्षति पुर्याउन थालिसकेको छ । गत शनिबार साँझ रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ स्थित बराहाटाकुरा झोलुंगेनजिकै वनमा आगलागी भयो । त्यसको क्षति यकिन भएको छैन ।
वन तथा भूसंरक्षण विभागका अनुसार वन डढेलो ज्यादा फागुनदेखि वैशाखसम्मको अवधिमा हुन्छन् ।
विभागको अध्ययनमा भनिएको छ, ‘पछिल्ला १३ वर्षको स्याटेलाइट तथ्यांकले देखाउँछ– कि नेपालमा करिब ९० प्रतिशत वन डढेलो केवल फागुनदेखि वैशाखसम्मको अवधिमा हुन्छन् । जसमा वैशाख सबैभन्दा जोखिमयुक्त महिना हो ।’
वन डढेलोलाई आकस्मिक विपद्भन्दा पनि पूर्वानुमान गर्न सकिने मौसमी जोखिमका रूपमा लिइन्छ । तर, पूर्वतयारी र पूर्वसतर्कर्ताको कमीका कारण नेपालमा बर्सेनि यसले ठुलो क्षति पुर्याउँदै आएको छ ।
वन तथा भूसंरक्षण विभागका अनुसार वन डढेलोले पछिल्ला पाँच वर्षमा अर्ब नजिकको क्षति भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्मको अवधिमा २ हजार १५९ वटा डढेलोका घटना भएका छन् । यसबाट ९१ करोड ७९ लाख २७ हजार ९१० रुपैयाँबराबरको क्षति भएको छ ।
ती घटनामा ३० जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।
डढेलोका कारण ६५६ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । यस अवधिमा १३३ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने ३४७ वटा घर आंशिक क्षतिमा परेका छन् । त्यस्तै, गोठ तथा अन्य संरचनामा पनि व्यापक क्षति पुगेको छ ।
पशुचौपायतर्फ पनि डढेलोले ठुलो असर पारेको छ । पाँच वर्षमा सयौं पशुचौपायको क्षति भएको छ । यसले ग्रामीण जीवनयापनमा प्रत्यक्ष असर पुर्याएको छ ।
विज्ञका नजरमा जलवायु परिवर्तन, लामो समयसम्मको सुक्खा मौसम, वन व्यवस्थापनमा कमजोरी र मानवीय लापरबाही डढेलो बढ्नुका मुख्य कारण हुन् । साथै, समयमै नियन्त्रण गर्न नसक्दा सानो आगलागी पनि ठुलो डढेलोमा परिणत हुने गरेको छ ।