
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका क्षेत्रको टीकुलिया गाउँमा खेतमा घाँस काट्ने विवादले उग्ररूप लिँदा सामूहिक कुटपिट भएको छ । घटनामा तीन महिला गम्भीर घाइते भएका छन् भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति भएको घटनामा महेश तिवारीकी छोरीहरू २५ वर्षीया अस्मिता तिवारी र १५ वर्षीया सुस्मिता तिवारी तथा बचेलाल मुखिया बिनकी ४० वर्षीया श्रीमती अनतिया बिन गम्भीर घाइते भएका छन् । पारिवारिक स्रोतका अनुसार अनतिया बिनको टाउकोमा गम्भीर चोट लागेको छ, भने अस्मिता र सुस्मिताको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।
घाइतेहरूलाई घटनालगत्तै एम्बुलेन्समार्फत बारा जिल्लाको कलैया स्थित ए प्लस अस्पतालमा लगिएको थियो । चिकित्सकले तीनै जनालाई आईसीयूमा राखेर उपचार भइरहेको र अवस्था क्रमशः सुधारोन्मुख रहेको जानकारी दिएका छन् ।
घटनामा संलग्न आरोपी शंकर राय यादवका ४० वर्षीय छोरा शम्भु राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनी हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन् । रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । प्रहरीका अनुसार विवादको जड आइतबारको घटना हो ।
अभियुक्त शंकर राय यादव फरार रहेका थिए र अहिले बिरामीको बहाना बनाएर उपचार गराइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले घटना सम्बन्धी थप अनुसन्धान जारी राखेको छ ।