२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई विप्लवको विद्यार्थी संगठनद्वारा ज्यान मार्ने धम्की, महासंघको ध्यानाकर्षण

Nada
२०८१ साउन १० गते १३:५४
Shares
जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई विप्लवको विद्यार्थी संगठनद्वारा ज्यान मार्ने धम्की, महासंघको ध्यानाकर्षण

काठमाडौं : जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवम् प्रेस काउन्सिल नेपालका पूर्वकार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई नेकपा विप्लवको विद्यार्थी संगठनले भौतिक कारबाहीको धम्की दिएको छ ।

ncell

संगठनको सचिवालय सचिव बताउने कपिल सीले मोबाइलबाट फोन गरी अश्लील गालीगलौज गर्दै भौतिक कारबाहीको धम्की दिएका हुन् ।

नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साउन ८ गते मंगलबार बिहान १० बजेदेखि मोबाइल नम्बरबाट फोन गरी कपिल सीले अत्यन्त स्तरहीन शब्द प्रयोग गरी प्रधानसम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको श्रेष्ठले महासंघलाई जानकारी गराएका थिए । धम्कीका क्रममा कपिलले श्रेष्ठ र उनकी श्रीमतीलाई जहाँ भेटे त्यहीँ मारिदिने, बम हानेर घर उडाइदिनेजस्ता धम्की दिएको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै सोही दिन दिउँसो सानेपाको धोबिघाटस्थित पत्रिकाको कार्यालयमा हतियारसहित आएका एक व्यक्ति प्रवेश गरेर धम्कीपूर्ण भाषा प्रयोग गरी कार्यालयका रहेका सबै कर्मचारीलाई धम्क्यार ‘एक घण्टाभित्र हाजिर हुन आउने, नआए बम हानेर कार्यालय उडाइदिने’ भनेर धम्क्याउँदै पत्रिका प्रकाशन कार्यमा समेत अवरोध गरेको जानकारी प्राप्त भएको महासंघले उल्लेख गरेको छ ।

समाचारसँग सम्बन्धित विषयमा चित्त नबुझेका कुरा भए वार्ता र संवादका माध्यम वा कानूनी उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा त्यसो नगरी यस किसिमको अपराधिक तवरले भौतिक कारबाहीको धम्की दिने, बम हानिदिने र गालीगलौज गर्ने जस्ता हर्कत हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै प्रहार भएको महासंघले बताएको छ ।

महासंघले पत्रकारलाई आतंकित, त्रसित र हतोत्साहित बनाउने यो कार्यमा संलग्नको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याएर पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर