२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

रुकुम पूर्वको भूमेमा शिक्षा र कृषि क्षेत्रमा नमूना अभियान सञ्चालन

shivam cement
बालाराम शेर्पाली
२०८२ असोज १२ गते २०:०८
रुकुम पूर्वको भूमेमा शिक्षा र कृषि क्षेत्रमा नमूना अभियान सञ्चालन

रुकुम पूर्व : रुकुम पूर्वको भूमे गाउँपालिका–३ मा केही वर्षयता विद्यालयका विद्यार्थी र स्थानीय किसानको जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको छ । यो परिवर्तनको मूल कारण नेपाल सर्वाङ्गिण विकास समाजले २०७८ सालदेखि निरन्तर सञ्चालन गर्दै आएको विभिन्न सामाजिक तथा विकासात्मक कार्यक्रमहरू रहेका छन् । पौष्टिक नास्ता वितरणदेखि लिएर किसानलाई कृषि अनुदानसम्मको अभियानले गाउँमा नयाँ ऊर्जा भरेको छ ।

संस्थाले वडा नम्बर–३ भित्रका चार विद्यालयहरू नमुना आधारभूत विद्यालय, तक्सार आधारभूत विद्यालय, शहीद शुक्र माध्यमिक विद्यालय र शहीद वासु स्मृति विद्यालयमा दैनिक नास्ता वितरण गर्दै आएको छ । हप्तामा ६ दिन ६ किसिमका पौष्टिक परिकार उपलब्ध गराइने यस कार्यक्रमले विद्यार्थीलाई स्वस्थ राख्नुका साथै विद्यालयमा आकर्षण बढाएको छ । विद्यालयमै नास्ता पकाउनेलाई तालिम र मासिक तलब उपलब्ध गराइने भएकाले यसले स्थानीय महिलालाई रोजगारी दिने अवसर पनि सिर्जना गरेको छ ।

तक्सार आधारभूत विद्यालयका प्रधानाध्यापक होमजङ राणा मगरका अनुसार यस कार्यक्रमले विद्यार्थीलाई विद्यालयप्रति आकर्षित मात्र गरेको छैन, उनीहरूको स्वास्थ्य सुधार र अनुशासनमा समेत योगदान पु¥याएको छ । शहीद शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिल आचार्यले खाजा कार्यक्रमका कारण विद्यार्थीहरूको उपस्थितिमा उल्लेखनीय वृद्धि भएको बताउँदै, किशोरीहरूको व्यक्तित्व विकास, शैक्षिक सामग्री र आधारभूत पूर्वाधार सहयोगले पढाइमा थप उत्साह देखिएको उल्लेख गरे ।

विद्यालय नास्ता कार्यक्रमसँगै किशोरी सशक्तिकरणका गतिविधिहरू पनि नियमित रूपमा सञ्चालन हुँदै आएका छन् । प्रत्येक ६–६ महिनामा किशोरीलाई जीवनदक्षता तालिम, करेसाबारी बनाउने सीप, शैक्षिक सामग्री तथा सरसफाइ सामग्री वितरण जस्ता कार्य निरन्तर भइरहेका छन् । यस वर्ष ४ विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । साथै विद्यालयलाई साउन्ड सिस्टम उपलब्ध गराइएको छ, जसले शैक्षिक तथा सांस्कृतिक गतिविधिलाई सहज बनाएको छ ।

नेपाल सर्वाङ्गिण विकास समाजले गाउँका किसानलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा समेत विशेष पहल गरेको छ । संस्थाले २४ किसानलाई बुंगुरको खोर, ७४ किसानलाई बाख्राको खोर, ६ किसानलाई कुखुराको खोर, ८३ किसानलाई फलामे टनेल र करिब २५ किसानलाई साधारण टनेल उपलब्ध गराएको छ । साथै, नर्सरी निर्माण, बिरुवा रोप्ने तरिका, कम्पोस्ट र झोल मल बनाउने तालिम पनि दिएको छ ।

फलामे र साधारण टनेल पाएपछि तरकारी खेतीमा उत्पादन बढेको भूमे–३ का कृषक भान्देउ रोकाले खुशी व्यक्त गरे । बाख्रापालक कृषक झुलप्रसाद गुरुङले बाख्राको खोर बनाउन जस्ता पाता र अनुदानमा आएको बोयर जातका बाख्राले किसानमा नयाँ प्रेरणा जगाएको बताए । बुंगुर पालक जमुना पुनले खोर निर्माण सामग्रीसँगै पाएको पाथाले जीवनयापन सजिलो भएको अनुभव सुनाइन् । 

यी सबै कार्यक्रमहरू युएसएको सहयोगमा सञ्चालन भइरहेको संस्था हाल रुकुमपूर्वसँगै सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा पनि क्रियाशील छ । विद्यालय र कृषि दुवै क्षेत्रमा सकारात्मक परिणाम देखिन थालेपछि यो अभियान गाउँकै मात्र नभइ जिल्लाकै नमूना कार्यक्रमका रूपमा स्थापित भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise