२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

रुकुमपूर्वमा चाडपर्व लक्षित छड्के चेकजाँच, सुरक्षामा कडाइ र कालोबजारी नियन्त्रणमा जोड

shivam cement
बालाराम शेर्पाली
२०८२ असोज ११ गते २०:५७
रुकुमपूर्वमा चाडपर्व लक्षित छड्के चेकजाँच, सुरक्षामा कडाइ र कालोबजारी नियन्त्रणमा जोड

रुकुमपूर्व : चाडपर्व नजिकिँदै गर्दा सुरक्षालाई सुदृढ बनाउने र बजारमा हुने कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले रुकुमपूर्वमा व्यापक छड्के चेकजाँच गरिएको छ । प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा शनिबार गरिएको सो चेकजाँचमा जिल्ला प्रहरी कार्यालयका डीएसपी उमाशंकर प्रसाद यादव, सशस्त्र प्रहरीका डीएसपी संगीत भट्ट, अस्पताल सुपरिटेन्डेन्ट डा. कृष्ण खराल, नेपाल पत्रकार महासंघका पदाधिकारी, ट्राफिक प्रहरी तथा जिल्ला प्रशासनका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । 

चाडपर्व नजिकिँदा यात्रुको चाप बढ्ने, कालोबजारी हुने तथा अवाञ्छित गतिविधि बढ्ने सम्भावना रहने भएकाले जिल्ला प्रशासन कार्यालयले यसपटक सुरक्षामा कडाइ गर्ने विशेष अभियान सुरु गरेको हो । 

रुकुम पश्चिम हुँदै आउने सवारीसाधनलाई रुकुमकोटदेखि सिस्ने गाउँपालिका–६ खोपिचारसम्म पर्ने मध्यपहाडी लोकमार्ग क्षेत्रमा प्रहरीले रोकथाम गरी विस्तृत चेकजाँच गरेको थियो । 

चेकजाँचका क्रममा सवारीसाधनको प्राविधिक कागजात, चालकको लाइसेन्स, यात्रु संख्यामा कानुनी पालना भएको÷नभएको र सवारीसाधनमा बोकेको सामानको विवरणलाई विशेष ध्यान दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो क्रममा कतिपय सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राखिएको पाइएपछि तुरुन्तै सचेत गराइएको र कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिइएको छ ।

प्रहरीका अनुसार चाडपर्वमा यात्रुको सहज आवागमन सुनिश्चित गर्न, दुर्घटनाका घटना कम गर्न तथा यात्रुहरूलाई असुविधा हुन नदिन यस्ता चेकजाँचलाई निरन्तर कडाइका साथ अघि बढाइनेछ । साथै, बजारमा आवश्यक वस्तुको आपूर्ति सहज बनाउन, कृत्रिम अभाव सिर्जना गर्ने र मूल्यवृद्धि गर्ने गतिविधिलाई रोक्न विशेष अनुगमनसमेत गर्ने तयारी गरिएको छ ।

सिडिओ परियारले चाडपर्वको समयमा जनसुरक्षा, शान्ति–सुव्यवस्था र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखी प्रशासनले सुरक्षाकर्मी, प्रहरी, ट्राफिक प्रहरी तथा स्थानीय निकायबीच सहकार्यमा कार्यक्रम अघि बढाइने बताइन् ।

उनले यात्रु, व्यापारी तथा व्यवसायीलाई समेत कानुन र सुरक्षाप्रति जिम्मेवार बन्न आग्रह गरिन् । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी यादवले अवाञ्छित गतिविधि नियन्त्रण गर्ने, कालोबजारी रोक्ने र चाडपर्वमा सर्वसाधारणलाई सहजता प्रदान गर्ने उद्देश्यले चेकजाँचलाई नियमित र निरन्तर बनाइने उल्लेख गरे। उनका अनुसार, चाडपर्व जस्तो समयमा सुरक्षामा खटिने टोलीले अझ सतर्कता अपनाउनेछ ।

यसरी, चाडपर्व लक्षित सुरक्षात्मक कदमअन्तर्गत गरिएको छड्के चेकजाँचले यात्रु तथा स्थानीय नागरिकलाई सुरक्षाप्रति विश्वास दिलाउने र बजारमा हुने कालोबजारी नियन्त्रण गर्न ठोस प्रभाव पार्ने विश्वास लिइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise