२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

तनाव व्यवस्थापनका साथै नेतृत्व विकासमा जोड

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ असोज १० गते २०:५०
तनाव व्यवस्थापनका साथै नेतृत्व विकासमा जोड

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाले तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास र नेतृत्व क्षमतामा जोड दिने उद्देश्यले राजयोग तालिम सम्पन्न गरेको छ । सामान्यतया स्थानीय सरकारका कामहरू भौतिक विकास र आधारभूत सेवा प्रवाहमै सीमित हुने गरेका बेला शितगंगाले फरक धार ल्याउँदै मानसिक स्वास्थ्य र नेतृत्व विकासमा ध्यान दिएको हो । 

राजयोग प्रशिक्षणमार्फत नगरपालिकाले स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीलाई स्वास्थ्य, सकारात्मक सोच र नेतृत्व विकाससँग जोड्ने प्रयास गरेको हो । कार्यक्रममा सहभागी वक्ताहरूले यसलाई निकै सकारात्मक पहलका रूपमा व्याख्या गरे ।

नगर प्रमुख छविलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, योजना शाखा प्रमुख नुमलाल खनाल, नगर प्रवक्ता दामोदर न्यौपानेलगायतका कर्मचारी तथा जनप्रतिनिधि, स्थानीय पत्रकार, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रमका सबै सहभागीहरूले तालिमलाई उपयोगी ठानेका सूचना अधिकारी नुमलाल खनालले बताए । 

तालिममा अन्तर्राष्ट्रिय प्रेरक वक्ता ब्रह्मकुमार विजयराज सिग्देलले सहभागीहरूलाई तनावलाई जीवनको प्रेरणा बनाउन सकिने तरिका सिकाएका थिए । उनले ‘मुस्कान हाई हाई, ठुस्कान बाइ बाइ’भन्ने रोचक शैलीमा प्रशिक्षण दिँदा सहभागीहरू निकै खुसी भएका थिए । स्थानीय सहभागी ऋषि घिमिरेका अनुसार प्रशिक्षण रोचक र जीवन उपयोगी रहेको अनुभव गरिएको हो ।

वडा नं. ११ का अध्यक्ष नवराज भुसालले भने, ‘नेतृत्व गर्दा चुनौती धेरै हुन्छ, तर यस प्रशिक्षणले आन्तरिक शान्ति र सकारात्मक सोचसहित काम गर्ने आधार दिएको छ । यसलाई निरन्तरता दिनुपर्छ ।’

कार्यक्रममा सहभागी पत्रकार र सुरक्षाकर्मीहरूले पनि तालिम जीवनोपयोगी रहेको प्रतिक्रिया दिएका थिए ।

संघीय सरकारले कार्यसन्तुष्टि र कार्यक्षमता सुधारका लागि समय–समयमा अभिमुखीकरण तथा कार्यशाला गर्दै आएको भएपनि ‘तनाव व्यवस्थापन’ र ‘मानसिक सन्तुलन’लाई लक्षित कार्यक्रम भने विरलै हुने गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । उनका अनुसार यो कार्यक्रम कर्मचारी र जनप्रतिनिधिको मागअनुसार सञ्चालन गरिएको हो । 

नगर प्रमुख छविलाल पौडेलले यस्ता कार्यक्रमहरूले व्यक्तिगत जीवनमा आत्मसन्तोष थप्नुका साथै संस्थागत कार्यसम्पादनमा पनि सकारात्मक प्रभाव पार्ने बताए । उनले शितगंगाको पहलले स्थानीय शासन प्रणालीलाई मानव–केन्द्रित, नागरिकमैत्री र आधुनिक प्रवृत्तिसँग जोड्ने नयाँ मोड दिएको टिप्पणी गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise