२०८२ असोज १० गते शुक्रवार / Sep 26 , 2025 , Friday
२०८२ असोज १० गते शुक्रवार
Ads

कात्तिकभर मतदाता नामावली संकलन

shivam cement
दिवाकर अधिकारी
२०८२ असोज १० गते ०६:२५
कात्तिकभर मतदाता नामावली संकलन

काठमाडौं : आगामी कात्तिक महिनाभर मतदाता नामावली संकलन हुने भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन कार्यालय वा अनलाइनमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् ।

मतदाता नामावली संकलनका लागि सहज हुनेगरी सरकारले अध्यादेश ल्याएपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि समय यकिन गरेको हो । सामान्य अवस्थामा निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलनको कार्य रोकिन्छ । जेनजी आन्दोलन पनि प्रतिनिधि सभा विघटन हुन पुगेको र यो विशेष परिस्थितिमा निर्वाचनको मिति घोषणा भएको भनेर सरकारले अध्यादेश ल्याएको छ । लगत्तै बिहीबार बसेको निर्वाचन आयोगको बैठकले अध्यादेश कार्यान्वयन गर्नेगरी कार्यविधि तय गरेको हो । तय भएको कार्यविधिअनुसार कात्तिकभर मतदाता नामावली संकलन हुनेछ । 

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरका अनुसार निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेशमार्फत खुला गरेपछि मतदाता नामावली संकलन सुरु गरिएको हो । 

गत भदौ २३ र २४ गते जेनजीले आन्दोलन गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधि सभाबाट नै सरकार बनाउने अवस्था रहेन । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ । कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी २१ फागुनमा चुनावको मिति तोकेका छन् । 

तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न सक्नेछन् ।

राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका थुप्रै युवाहरूको योग्यता पुगेर पनि मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनीहरूका लागि नाम दर्ता गराउने कानुनी गाँठो फुकाउन सरकारले अध्यादेश ल्याएपछि आयोगले मतदाता नामावली संकलन सुरु गरेको हो । 

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुनबमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्थाका अतिरिक्त विवाह भई अन्यत्र गएका, बसाइँसराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिनेसमेत व्यवस्था मिलाइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise