प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष निर्वाचित कार्यकारी र संविधान संशोधन अहिलेको सरकारले गर्न नसक्ने प्रष्ट पारेकी छिन् । सरकारको मुख्य लक्ष्य आगामी फागुन २१ गते हुने आमचुनाव नै भएको उल्लेख गर्दै उनले शासकिय स्वरुपमा परिवर्तन र संविधान संशोधन चुनावपछि आउने संसद्ले गर्ने प्रष्ट सन्देश दिएकी छिन् । उनले राजनीतिक दलसहित सबैलाई चुनावलाई सघाउन र भाग लिन अह्वान पनि गरेकी छन् ।
जेनजी अगुवाहरुले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्नेभन्दै सरकारसँग छलफलको तयारी गरिरहेका बेला प्रधानमन्त्री कार्कीले बिहीबार देशबासीलाई सम्बोधन गरेकी हुन् । संविधान संशोधनको आवश्यक भए चुनावपछि मात्र सम्भव हुने उनले बताएकी छिन् ।
‘शासकीय प्रणालीको संशोधन विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकालेले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वान गर्दछु’ सम्बोधनका क्रममा कार्कीले भनेकी छन् ।
जेनजी आन्दोलनपछि संवादहिनतामा रहेका दलहरुलाई समेत प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै चुनावका लागि औपचारिक आह्वान गरेकी छिन् ।