काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोला नजिक ठुलो पहिरो गएको र हटाउनका लागि आवश्यक भन्दा बढी नै उपकरण परिचालन गरिएको बताएका छन् ।
पटकपटक त्यहाँ पहिरो पन्छाएर सडक खुलाइएको भएपनि फेरि अझ ठुलो सुक्खा पहिरो खस्दा सडक सञ्चालनमा अवरोध सिर्जना भएको उनले बताए । उनका अनुसार पहिरो खसिरहने भएकाले राति काम गर्न सकिने अवस्था छैन, ठुलो जोखिम छ ।
आजदेखि पानी परेन भने राति पनि काम गरेर भोलि बिहानसम्ममा सडक निर्वाध रुपमा सुचारु गरिने उनको भनाइ छ । घिसिङकाअनुसार पहिरोले सम्पूर्ण यातायात अवरुद्ध भने गरेको छैन ।
वैकल्पिक रुपमा कान्ति पथ र त्रिभूवन राजमार्ग सुधार गरेर सञ्चालनमा ल्याइएको छ भने विपी राजमार्ग र कोदारी राजमार्ग निर्वाध चलिरहेका छन् । उनकाअनुसार एक डेढ महिनादेखि रोकिएका धेरै मालबाहक कन्टेनरहरु सीमा नाकाबाट पास भइसकेका छन्, अहिले निर्बाध रुपमा सञ्चालन भइरहेको छ ।
मन्त्री घिसिङकाअनुसार पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालनमा छ । सरकारले मुग्लिन-नारायणगढ सडकखण्डलाई प्राथमिकतामा राखेर यथाशीघ्र यातायात सहज बनाउने तयारी अघि बढाएको उनको भनाइ छ ।
मन्त्री घिसिङकाअनुसार पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालनमा छ । कहिले काहीँ समस्या आउनसक्छ तर समस्या आएपनि तत्काल खुलाउने हिसावले अघि बढेको उनले बताए ।