सिन्धुपाल्चोकः जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भइ जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएको प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
आज दिउँसो करिब ४ः४५ बजे सडकमाथिबाट लेदो सहितको पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् । घटनापछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको नेतृत्वमा १० जनाको प्रहरी टोली परिचालन भइ खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।