काठमाडौंः काठमाडौंको हनुमान ढोकास्थित दसैंघरमा आज विधिवत रुपमा जमरा राखिएको छ ।
सोमवारबाट विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो । हनुमान ढोकास्थित दसैंघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत ९ः१३ बजे जमरा राखिएको छ ।
सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दसैंको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । सोमवार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैं घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ ।
नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजार्चना गरिन्छ ।