सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण सरकार ढालिएको बताएका छन् ।
शनिबार राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियु आयोजनामा सुर्खेतमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको बताए । उनले भने, ‘चुच्चे नक्सामा देखिएको भूमि नेपालको हो भन्ने सत्य दावी गर्दा जेनजी पुस्ताको नाम प्रयोग गरी आन्दोलन गराइयो र त्यसकै परिणामस्वरूप सरकार ढालियो ।’
उनले राष्ट्रहितको पक्षमा उभिनु अपराध नभई गौरवको विषय भएको उल्लेख गर्दै युवा पुस्ताले यस विषयलाई निरन्तर उठाइरहनुपर्नेमा जोड दिए । ‘देशको माटो बचाउन उठेका कदमलाई कमजोरीका रूपमा चित्रण गरेर सत्ता ढालिएको हो, तर इतिहासले यस्ता राष्ट्रवादी अडानलाई कहिल्यै नकार्दैन,’ कँडेलले थपे ।
मुख्यमन्त्री कँडेलले वर्तमान अवस्थामा जेन्जी पुस्तालाई प्रगतिशील रूपमा संगठित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले युवा संगठन र विद्यार्थी संगठनलाई मिलेर समाजलाई सकारात्मक दिशामा लैजान आह्वान गर्दै भने, ‘हामी निर्माण गर्ने पुस्ता हौं, दर्शक बन्ने होइनौं। भ्रष्टाचारको विरुद्ध आवाज उठाउने, राष्ट्रको पक्षमा बोल्ने, र समाजलाई अनुशासित बनाउने जिम्मेवारी युवामाथि छ ।’
उनले गुटबन्दी, विभाजन र स्वार्थी राजनीति गर्दा पार्टी मात्र कमजोर नभइ राष्ट्रसमेत कमजोर हुने चेतावनी दिए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष, सुर्खेत जिल्ला अध्यक्ष र युवाहरूको उपस्थिति रहेको थियो ।