देउखुरी : लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा संविधान दिवस भव्य रूपमा मनाएको छ । प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार मूल समारोह आयोजना गरी ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को संकल्पसहित दिवस मनाइएको हो ।
कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको चाहनाअनुसार राजनीतिक दल र कर्मचारीहरूले कार्यशैली परिवर्तन गरी पारदर्शी र जवाफदेही बन्नुपर्ने बताए । उनले भने, 'लोकतान्त्रिक प्रक्रियामार्फत संविधानको कार्यान्वयन हाम्रो साझा लक्ष्य हो । यसले मुलुकलाई निकास दिनेछ ।' उनले सेवा प्रवाहमा ढिलासुस्ती र फाइल अड्काउने प्रवृत्तिको अन्त्य गर्न जोड दिए ।
मुख्यमन्त्री आचार्यले संविधानले सामाजिक न्याय, समानता र समावेशितालाई प्राथमिकता दिएको उल्लेख गर्दै प्रदेश सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, मितव्ययिता र नागरिकका गुनासा सम्बोधनमा केन्द्रित रहेको बताए । 'हामी संविधान, दिगो विकास लक्ष्य र दोस्रो आवधिक योजनालाई आधार बनाएर नीतिगत र कानुनी सुधारमा अघि बढिरहेका छौं,' उनले भने ।
कार्यक्रममा सभामुख तुलाराम घर्तिमगरले संविधानभित्रैबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । 'हाम्रो संविधान विश्वकै अब्बल छ । यसैभित्र बसेर युवा पुस्ताको सोच सम्बोधन गर्न सकिन्छ,' उनले भने । उनले कार्यशैलीमा परिवर्तन गरी जनअसन्तुष्टि हटाउनुपर्ने बताए ।
पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई सबैको भावना समेट्ने गरी परिमार्जन गर्नुपर्ने बताए । 'सबै नेपालीलाई एकताबद्ध गरी सुशासन र विकासमा जोड दिनुपर्छ । अराजकता र भ्रष्टाचारको छानबिन जरुरी छ,' उनले भने ।
अर्का पूर्वमुख्यमन्त्री जोखबहादुर महराले संविधानले सामाजिक परिवर्तनको नेतृत्व गर्नुपर्ने बताए । 'विकासको चरणलाई संविधानले समेट्नुपर्छ । राजनीतिक स्थिरताका लागि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार आवश्यक छ,' उनले भने ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालको स्वागत मन्तव्य र प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षता रहेको थियो । सहजीकरण मुख्यमन्त्री कार्यालयका कानून सचिव लिलाधर सुवेदीले गरेका थिए । कार्यक्रममा प्रदेश सभाका सभापति, प्रमुख सचेतक, सचिव, कर्मचारी, स्काउट विद्यार्थी र स्थानीय समुदायको सहभागिता थियो ।