रौतहट : रौतह६को राजदेवी नगरपालिका–९, ब्रह्मपुरीमा आयोजित एकदिने निःशुल्क आँखा शिविरमा २ सय ५३ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल र पुरेनवा सेवा फाउन्डेसनको सहयोगमा मध्यमिक विद्यालय ब्रह्मपुरीमा आयोजित यो शिविर स्थानीय युवा अभियन्ता नविन कुमार सिंहको पहलमा सम्पन्न भएको हो ।
शिविरमा २ सय ५५ बिरामीले सेवा लिए, जसमा १ सय ३२ महिला र १ सय २३ पुरुष थिए । अस्पताल प्रशासक नागेश्वर प्रसाद चौधरीका अनुसार १ सय १३ जनाले चस्मा, १ सय ५ जनाले औषधि प्राप्त गरे भने ६२ जनाको मोतियाबिन्दु शल्यक्रियाका लागि छनोट गरिएको छ । छनोट भएका बिरामीको निःशुल्क शल्यक्रिया, लेन्ससहित, आगामी आइतबार र सोमबार गौर आँखा अस्पतालमा हुनेछ ।
शिविरमा तीन जना बिरामी दुवै आँखामा मोतियाबिन्दुका कारण दृष्टिविहीन भएको अवस्थामा फेला परेका थिए । नेत्र अधिकृत विनिता केसरीको नेतृत्वमा अरचना सिंह, अमित दास, गोमा न्यौपाने, जितेन्द्र साह, जितेन्द्र प्रसाद यादव, गौरी राउतसहित नौ जनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
स्थानीय वडा कार्यालय र सुरक्षा निकायको समन्वयमा आयोजित यो शिविरले स्थानीय समुदायमा आँखा स्वास्थ्यप्रति जागरूकता फैलाउन महत्वपूर्ण योगदान पुर्याएको छ ।