२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

अविरल वर्षाले निर्माणाधीन सडक भासियो

shivam cement
मध्यान्ह
२०८२ असोज १ गते ०९:२६
अविरल वर्षाले निर्माणाधीन सडक भासियो

तनहुँ : आइतवारदेखि परेको अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन सडक भासिएको छ । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका-१२ लामागाउँ जोड्ने दुलेगौडा लामागाउँ मोटर मार्गअन्तर्गत हेल्थपोष्ट नजिक सडक भासिएको हो ।

शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकका अनुसार विश्व बैंकको सहयोगमा स्तरोन्नति भइरहेको सडक खण्ड भासिएपछि नगरपालिकाले तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । निर्माण कम्पनी बानियाँ निर्माण सेवाका प्रतिनिधि श्यामानन्द गुप्तासहितको टोलीलाई नगरपालिकाले सडक स्तरोन्नतिको कामलाई गुणस्तरीय बनाउन निर्देशन दिएको छ । 

यो सडकमा हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक स्तरोन्नतिका लागि २०८० साल चैत २५ गते भएको थियो । विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत उक्त मोटर मार्गको सात दशमलव एक किलोमिटर दूरी कालोपत्रका लागि निर्माण कम्पनी बानियाँ निर्माण सेवा हेटौँडासँग सम्झौता भएको थियो । उक्त ठेक्काको रकम रु. २७ करोड ३४ लाख ७९ हजार ८३४ रहेको छ ।

नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईका अनुसार शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी नगरपालिका-८, ९ र १२ वडालाई जोड्छ । उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । दुलेगौडास्थित बिपी चोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ १० मिटरको रहनेछ । यहाँ पाँच दशमलव पाँच मिटर कालोपत्र, कालोपत्रको दुवै छेउमा एक–एक मिटरको नाला निर्माण हुनेछ ।

शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका-१२ लामागाउँ मोटर मार्ग १४ किलोमिटर छ । सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्य हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ । 

ADV

सम्बन्धित खबर

Advertise